यी हुन् भिजिट भिसाको सेटिङमा बिटुलिएकाहरु

यी हुन् भिजिट भिसाको सेटिङमा बिटुलिएकाहरु
सुन्नुहोस्

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिएका हुन् । यो क्रम घट्नुको सट्टा बढेको अवस्था जारी छ । 

विदेश जानेको संख्या बढेसँगै मानव तस्करी पनि मौलाएको छ । वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाएको बताइन्छ । विदेशको सपना देखाएर, प्रलोभनमा पारेर युवायुवतीलाई गैरकानुनी माध्यमबाट विभिन्न मुलुक पुर्याइएको छ । 

मानव तस्करीको एउटा गतिलो माध्यम बनेको छ ‘भिजिट भिसा’ । सेटिङ्गमा भिजिट भिसामा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही अधिकृत र ट्राभल एजेन्सीका सञ्चालकहरु पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । 

पक्राउ परेकाहरुविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । प्रहरी स्रोतका अनुसार मानव तस्करीका नाइकेहरु भने उम्किएका छन् । अध्यागमनमा एकसय ४० जना कर्मचारी कार्यरत छन् । जसमध्ये झण्डै एक दर्जनको मानव तस्करी चलाउने ट्राभल एजेन्सीसँग सम्पर्क हुने गरेको बताइन्छ । विमानस्थलबाट हुने अवैध धन्दाको नेतृत्व तत्कालीन प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले गर्दै आएका थिए । 

२०७८ सालमा विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत भएर आएका उनको मानव तस्करी र बेचबिखनमा संलग्नहरुसँग सम्पर्क रहेको गाइँगुईं अध्यागमनमा नचलेको पनि होइन् । उनी सरुवा भएर त्यहाँबाट अन्तै गएपनि यो गैरकानुनी काममा भने रोक लागेन । उनीसँग राजन लम्साल, एमालेका कर्मठ कार्यरतको रुपमा आफूलाई चिनाउने रामराजा थापा, विनोद कार्की, रमेश थापा, बिबी थापा भन्ने भक्तबहादुर विक, फणिन्द्र तामाङ, दिपक राईलगायतको सम्पर्क भएको बताउने गरिएको छ । 

लम्साल, थापा, कार्की, विक, तामाङ र राईले सेटिङमा दुबई हुँदै कुवेत, ओमनलगायत खाडी मुलुक र अफ्रिकी मुलुकका ड्रान्सबारमा कामदार पठाउने गरेका थिए । उनीहरुको ठूलो समूह नै रहेको जानकार स्रोत बताउँछ । भिजिट भिसा खुकुलो बनाएबापत शाहीले वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीहरुबाट अनुचित लाभ लिएको चर्चा अध्यागमनमा व्याप्त छ । 

शाही यतिखेर सम्पत्ति शुद्धिकरण विभागका हाकिम छन् । अध्यागमन अधिकृतहरु शोभाकार पोखरेल, कृष्णहरि न्यौपाने, विनोदकुमार दत्त, इन्द्र चापागाईं, मातृकाप्रसाद दाहाल, कुशल बराल, शम्भु ठकुल्ला, पुरुण गुरुङ, शेरबहादुर थापा, बरदान सेजुवालको नाम पनि शाहीसँग जोडिने गरेको छ । 

गुरुङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङका भतिज हुन् भने सेजुवाल नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालको परिवारका सदस्य हुन् । न्यौपाने विराटनगर कारागारमा निमित्त जेलरको जिम्मेवारीमा छन् । भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि बराल फरार भएका छन् । 

प्रहरीले कार्यालयमा कार्यरत अधिकृतहरु नरवीर खड्कालगायत २२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाललगायतविरुद्धको मुद्दा विचाराधीन छ । सुजन फागो लिम्बु र ताराबहादुर कुँवरविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । भिजिट भिसामा पठाउन दुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा पक्राउ परेका अधिकृत नर्वे खड्काबाहेक सबै फरार छन् ।

टिप्पणीहरू