सांसदहरुको वादविवादले संसद बैठक अवरुद्ध

सुन्नुहोस्

प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । आकस्मिक समयमा बोल्ने सांसदहरुबीचको वादप्रतिवाद हुँदा प्रतिपक्षीहरुले बैठक अवरुद्ध गरेका हुन्।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीवार विधेयक प्रस्तुत गर्नेक्रममा प्रतिपक्षी दलहरुले गणपूरक संख्या नपुगोस् भनेर सांसदहरुलाई बाहिर निकालेको बताएका थिए । उनले विधेयक पारित गर्ने जिम्मा सत्तापक्षको मात्रै हो भनि प्रश्न गरेका थिए । 

‘हिजो राजनीतक दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने बेलामा प्रतिपक्षको अनौठो, अचम्मको नाटक मञ्चन देखियो कि ठ्याक्क गणपूरक संख्या पुग्छ कि भनेर १०-१५ जना सांसदहरु बाहिर जानुभयो', सांसद केसीले भने, 'अत्यन्त दुःखका साथ म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, यो केवल सत्तापक्षको मात्रै विधेयक पास गर्ने हो कि अथवा प्रतिपक्षको मात्रै हो सभामुख महोदय ? एक वर्षमा एउटा मात्र विधेयक पेश गर्यो भनेर आज सर्वत्र आचोलना छ ।’

त्यसपछि प्रमुख प्रतिपक्ष दल एमालेलगायतका प्रतिपक्षी दलहरुले उठेर बिरोध जनाए । लगत्तै सभामुख देवराज घिमिरेले सांसद केसीलाई बोल्न रोक्दै 'प्रतिपक्षका कुनै सांसद बोल्नुस्' भनेपछि सत्तापक्षीय सांसदहरु पनि उठेका थिए । पुन: बोल्न पाएका केसीले पुरानै कुरा दोहोर्याए ।  

त्यसपछि बोल्न समय पाएका एमाले प्रमुख सचेतक पदम गिरीले केसीको अभिव्यक्तिको खण्डन गर्दै आफूहरुले संसद रोक्न र प्रभावित पार्न नचाहेको बताए । सत्तापक्षले प्रतिपक्षीलाई हिलो छ्यापेर भ्रम सिर्जना गर्न खोजेको उनले आरोप लगाए । 

प्रतिपक्षले विधेयक संसदमा पेश गर्न बाधा नपुर्याएको दाबी गर्दै उनले बहुमतको सरकारले संसदबाट विधेयक पास गर्ने आँट देखाउन चुनौती दिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले गठबन्धनमा प्वाल परेको टिप्पणी गरे । प्रतिपक्षले सरकारलाई रचनात्मक सहयोग गरिरहेको भन्दै उनले क्यालेण्डर हेरेर बैठकमा आउनुपर्दैन ? भनेर प्रश्न गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कार्यव्यवस्था समितिमा जानकारी नदिइ गोदावरीमा पार्टीको कार्यक्रममा रुमल्लिएका भनेर कांग्रेसमाथि कटाक्ष गरे । बालकुमारी घटनाको हत्यारालाई पक्राउ नगरेको भन्दै आपत्ति जनाएका उनले प्रधानमन्त्री र गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिए संसद चलन नदिने बताए ।

त्यसपछि सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले सभामुखले आकस्मिक समयको समय निर्धारण नगरी आफ्नो तजबिजको आधारमा समय निर्धारण गरेको आरोप लगाए । सांसद शाहीलाई जवाफ दिँदै पदबाट राजीनामा गरेर सडकमा जान उनले सुझाव दिए  । संसद चल्न नदिएर अराजकता र उश्रृङ्खलता नदेखाउन सापकोटाले चेतावनीसमेत दिए ।

त्यसपछि, सभामुखले संसदलाई नियमित कार्यसूचीमा लैजान खोज्दा एमाले सांसदहरु उठेर विरोध गरेपछि बैठक १५ मीनेटका लागि स्थगित गरिएको हो ।

टिप्पणीहरू