सरकारको कुराले रविको पार्टीमा अर्को सकस

सरकारको कुराले रविको पार्टीमा अर्को सकस
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले सरकारमा सहभागी हुने पार्टीको निर्णयप्रति असहमति जनाएका छन् । सभापति रवि लामिछाने आफैँ सरकारमा जान बालुवाटार र बालकोटको कुदाकुदमा रहेका बेला उनले पार्टी कार्यालयमा फरक मत दर्ता गराएका हुन् । 

चुनाव अगाडिका रणनीति,पार्टीले सार्वजनिक गरेको  विचार र वाचापत्रविपरित सत्ताका लागि मरिहत्ते गरेको भन्दै उनले आफू त्यसमा सहमत हुन नसकेको बताएका छन् । सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने विद्यमान राजनीतिक अवस्थाबाट पार्टीलाई अलग राख्छौँ भनेर चुनावमा मत मागेको स्मरण गराउँदै उनले भनेका छन् 'जुन जोगी आए पनि कानै चिरेको' भन्ने आमनागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौँ,अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । हामी पनि उनीहरु जस्तै छौँ भन्न 'आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?' यो प्रश्नको जवाफ मसँग छैन ।'

कार्कीको फरक मतमा सरकारमा सहभागी हुने सम्बन्धमा पार्टीको बैठकमा आफूले राखेका धारणालाई उपेक्षा गरिएको र यस्तो अवस्था किन आयो भन्ने प्रश्नको जवाफ आफूसंग नभएको गुनासो गरिएको छ । 

हामी अलग छौँ,अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । हामी पनि उनीहरु जस्तै छौँ भन्न 'आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?' यो प्रश्नको जवाफ मसँग छैन ।'

'थाहा छ, एक थान केन्द्रीय सदस्यको असहमतिले पार्टीको निर्णयमा फरक पर्दैन । उसो त अनौपचारिकरुपमा अनेकौँ पटक तथा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिकरुपमा सांसदको सरकार बनाउने/ढाल्नेभन्दा अन्य धेरै जनमुखी कामहरु हुन सक्छन्, तिनलाई प्राथमिकता दिउँ भन्ने मेरो धारणाले पनि फरक पारेन ।

त्यो मेरो व्यक्तिगत धारणामा सिमित रह्यो', उनले भनेका छन्, 'तर यसमा मलाई व्यक्तिगतरुपमा अन्याय भएको भन्ने लागेको छैन किनभने स्वयम पार्टी सभापतिबाट व्यक्त भएका असंख्य विचारहरु पनि केवल व्यक्तिगत धारणामा सिमित भएका देखिए । ती संस्थागत हुन्थे भने 'रोक्ने यिनीहरुलाई भनिएका नेताहरुलाई उनीहरु भन्दा पहिले पुगेर 'जंगलबाट आएकाहरुले पनि जंगलीराज पुग्यो भनिएकाहरुकै 'राज'लाई झन् सहज बनाइन्न थियो कि ! त्यस्तो के बाध्यताले 'रोक्ने भनिएकाहरुलाई नै बोक्ने’ कित्तामा समाहित नभई जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन ।'

प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा फरक नपर्ने जनाउँदै कार्कीले भनेका छन्, 'पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अंगालो हाल्दै किन बालुवाटार गयौँ ? यसको जवाफ मसँग छैन ।

टिप्पणीहरू