सरकार गठनसँगै गृहमा रविको गलफत्ती

सरकार गठनसँगै गृहमा रविको गलफत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजोदेखि राजनीतिक समीकरण परिवर्तन गरेसङ्गै एमाले र उपेन्द्र यादवको जसपा झैँ रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ भएका छन् । हिजै माओवादी,एमाले र रास्वपाका तीन जना मन्त्रीले शपथ पनि खाइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै मन्त्रालयको जिम्मेवारी दिइएकाले नवनियुक्त मन्त्रीहरु विनाविभागीय हैसियतमा छन् । सत्तारुढ अरु पार्टी झैँ रास्वपा पनि मन्त्रालय बाँडफाँड हुँदा कम्तीमा तीन वटा बटम लाइन भन्न थालेको  छ ।

तीन वटा मन्त्रालय पनि आफूले चाहेबमोजिमको हुनुपर्ने धारणा सभापति रवि लामिछानेले शीर्ष नेताहरुको छलफलमा राखिसकेको माओवादी स्रोतले बताएको छ । ‘उनले गृह,पर्यटन र श्रम मन्त्रालय ताकेको देखिन्छ,’अर्को स्रोत भन्छ, ‘ ‘सहकारी,परिचयपत्र,राहदानीजस्ता काण्ड सल्टाउन गृह नभई नहुने भएकाले त्योसहित पर्यटनमा उनको होमवर्क छ । गत वर्षदेखि पर्यटन मन्त्रालय कसरी सञ्चालन हुन्छ भनेर टोलीले नै अध्ययन गरेको छ ।’

सांसद सुमना श्रेष्ठ नेतृत्वको टोलीले नेपाल वायुसेवा निगमदेखि, नागरिक उड्डयन प्राधिकरण,पर्यटन विभाग,पर्यटन बोर्डका बारेमा एक एक जानकारी लिएर अध्ययन गरेको बताइन्छ । उनीहरुले प्राधिकरण अर्थात् क्यान के हो, यसले कसरी काम गर्छ ? पर्यटन मन्त्रालयसँग जोडिएका हाँगाबिँगा के के हुन् ? भन्नेबारेमा व्यापक अध्ययन गरेकाले अहिले पर्यटन मन्त्रालयमा उनीहरुले जोड लगाउने संभावना रहेको बताइन्छ । 

विगतमा रविलाई एकाएक चर्चामा लगेको टेलिभिजन कार्यक्रमले हो । त्यसमा पनि ‘जनतासँग सीधा कुरा’मार्फत श्रमका लागि बिदेश  गएकाहरुको विषय उठाएपछि चर्चा बटुलेका थिए । वैदेशिक रोजगारीमा गएकालाई गरिएको ठगीको विषय उनको कार्यक्रमको मुख्य शीर्षक  हुन्थ्यो । अहिले त्यही सन्दर्भसँग जोडेर पर्यटन,वायुसेवाको विषयलाई समेत उछाल्न सजिलो हुने भएकाले पर्यटन र श्रम मन्त्रालयतर्फ नजर लगाएको अनुमान गरिएको हो । 

रवि स्वयम् उपप्रधानसहित गृह मन्त्रालयमा पुनः जाने प्रयासमा छन् । गत वर्ष छोटो समयमै रविको आडमा दीपक बोहोराको समूहले ‘फण्ड रेज’ गरेको विषय बाहिर आएको थियो । प्रहरीले त्यतिबेला मन्त्रालयको आडमा हप्ता उठाउने खेलमा समूह सक्रिय भएको बताएको थियो ।

टिप्पणीहरू