सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको समर्थन

सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेको समर्थन
सुन्नुहोस्

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले दाबी प्रस्तुत गरेका हुन् । सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका छन् । 

यसअघि गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी खेमाका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा सो पार्टीको संस्थापन पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

एउटै पार्टीबाट दोहोरो दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले दुबैलाई अस्वीकृत गर्दै आज साँझसम्मको समय दिएर पुन: दावेदारी पेश गर्ने समय दिएका थिए । तर, थपिएको समयमा पनि बहुमत जुटाएर मुख्यमन्त्री दाबी गर्न दलहरुलाई सकस पर्यो । सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनमा सहमति थियो । तर, एमालेको स्थानीय नेतृत्व सोडारीको नाममा सहमत भएन। 

सोडारीलाई मुख्यमन्त्री नमान्ने एमाले अडानले गठबन्धन नै भत्किने खतरा बढेपछि अध्यक्ष केपी ओलीको निर्देशनमा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले समर्थनको पत्र दिएलगत्तै नेताहरु प्रदेश प्रमुखको कार्यालय गएका हुन् ।

टिप्पणीहरू