हिजो सपथ खाएका मुख्यमन्त्री आजै अल्पमतमा

हिजो सपथ खाएका मुख्यमन्त्री आजै अल्पमतमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी शपथ लिएको २४ घण्टा नबित्दै अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद टिका थापाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । एकीकृत समाजवादीका चार, एमालेकाका १०, माओवादीका १०, नाउपा (रञ्जीता पक्ष)का दुई र एक स्वतन्त्र सांसदको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । 

तर, आज बिहान नाउप सांसद थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्रीको समर्थनमा अब २६ सांसदमात्र रहेका छन् । थापाले आफूलाई अब मन्त्री बन्ने कुनै लोभ नभएको समेत बताएकी छन् । 

'जनताले प्रदेश चाहिदैन भनिरहेको बेला मन्त्रालय फुटाएर भागबन्डा लागाएर मिलिजुली खाने कुरा चित्तबुझ्दो भएन', थापाले भनेकी छन्, 'मुख्यमन्त्रीको प्रस्तावमा मेरो असहमति जनाउँदै सरकारमा सहभागी नहुने र समर्थन पनि नरहेको कुरा जानकारी गराउँछु ।'

सरकार गठनमा निर्णायक संख्या रहेको नाउपाका सांसदहरु दुई खेमामा विभाजित छन् ।
 

टिप्पणीहरू