अडिट रिपोर्ट सार्वजनिक नगर्ने राजनीतिक दललाई निर्वाचन आयोगको अल्टिमेटम

अडिट रिपोर्ट सार्वजनिक नगर्ने राजनीतिक दललाई निर्वाचन आयोगको अल्टिमेटम
सुन्नुहोस्

निर्वाचन आयोगले निरन्तर तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाएका राजनीतिक दलसँग स्पष्टीकरण सोधेको छ । 

आयोगले आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९ र ०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश नगरेका तीन राजनीतिक दललाई स्पष्टीकरणसहित आगामी सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकले तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । 

यस्तै, गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्प्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी र साझा पार्टी नेपालले दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नबुझाएको पाइएको छ ।

लेखापरीक्षण प्रतिवेदन पेश नगरेको सम्बन्धमा कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधिएको छ । यसैबीच आयोगले २१ वटा राजनीतिक दललाई आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन आगामी सात दिनभित्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । 

आयोगमा पेश गरिएका तर सार्वजनिक नभएका लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जाललगायतका माध्यमबाट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेशन पेश नगरेका १५ वटा राजनीतिक दल र आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगरेको समाजवादी केन्द्र नेपाललाई पनि आगामी सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम किन कारबाही हुनु नपर्ने ? सो सम्बन्धमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको हो ।

टिप्पणीहरू