कहाँ बालेनको शहर, कहाँको भरतपुर

कहाँ बालेनको शहर, कहाँको भरतपुर
सुन्नुहोस्

अहिले चितवन नारायणगढ बजारको मुहार फेरिएको छ । चेहरा उज्यालिँदै गएको छ । पुलचोक–लायन्स चोकसम्मको दृश्य हेर्दै नारायणगढ भरतपुरकी भूदेवी मुस्कुराउन थालेकी छन् । केही दिनअघिसम्म कुचुक्क परेको अनुहार देखिन्थ्यो ।  बाटो फराकिलो बनाइए पनि साँघुरो र निस्सासिँदो हालत थियो । अहिले सिक्स लेनले सडक चौडा र फराकिलो मात्र भएको छैन,सडकको फोहोर कचेराहरु पनि बढारिँदै छ । साँच्चै भरतपुर,नारायणगढ सुन्दर देखिएको छ ।

क्रान्तिकारी र जुझारु मेयर,उपमेयर अनि प्रमुख प्रशासकीय अधिकृतदेखि सबै शाखाका कर्मचारी र जनप्रतिनिधिहरुबीच निरन्तर समन्वय भई काम भइरहेको पाइन्छ । यसरी हरेक कुरामा नमूना काम भरतपुरबाट भइरहँदा सुन्दर, समृद्ध महानगरको परिकल्पना विस्तारै साकार हुँदै गइरहेको छर्लङ्ग हुँदैछ । 

 नेपालको सडक,गल्ली, चोकचोकमा अनि नाकानाका अत्यन्त डरलाग्दो,घिनलाग्दो विरुप छ । खासगरी बाहिरियाहरु आएर नीति–नियम विपरीत नेपालको सिमाना,सडक, चोक गल्लीमा चोर व्यापार चलाइरहेको अत्यन्त विषम परिस्थिति छ । 

हुन त बीच बाटोको अवैध व्यापारमा गएर चटपट चाट्ने,आइसक्रिम चुस्ने अनि ठग तराजुमा चोरी गरी ल्याएका फलफूल,सब्जी किन्ने,सस्तो पायो भन्दैमा कुहिएको माछासमेत भारतीय नै खाने, सडकपेटीमै छाडा वस्त्र पनि उनीहरुसँगै किन्न जाने भएपछि उनीहरुको मनोबल बढ्दै गएको छ नेपालमा । केही नेपाली पनि डोको, साइकलमा फलफूल, जुत्ताकपडा लिएर सडकमा बस्दा विदेशीहरु पल्किँदै गएका हुन् । 

अहिले भने नारायणगढमा फुटपाथ र सर्भिस लेनसमेत ओगटेर माग्न बस्नेहरु, जोगीको भेषधारीहरु,जुत्ता सिउनेदेखि बच्चाको खेलौना बोकेर बीच बाटोमै ठडिने, आफू माग्ने,बच्चालाई पनि माग्न पठाउनेदेखि सबै व्यापारीहरुको भागाभाग भएको छ । दर्ता नै नगरी, त्यसमाथि बिलबिजक बिनाका अधिकांश भन्सार छली ल्याएका कपडा, फलफूललगायतका सामानहरु यहाँ खुलेआम चोक गल्ली र सडकमै बजार चलाएर अचाक्ली हुँदै थियो । 

विशेषगरी किशोरी, महिलाहरुलाई बाटो छेकेर टीका लगाउँदै टाउकोमा समातेर आशिर्वाद दिएझैं ढोंग गर्नेहरु पनि यहाँ हरदिन घुमिरहेको देखिन्थ्यो । नेपालका मधेसी नागरिकको नकावमा बढीजसो भारतीयहरुले नै अचाक्ली गर्दै आएका थिए । यतिबेला हेर्दा बल्ल मेरो देश हो कि भन्ने महसुस आम नेपालीलाई नारायणगढ पुलचोकको दृश्यले गराएको छ । 

व्यापारीहरुले बाटोमै छुट्टै  बजार चलाउँदा सडकमा हिँड्ने यात्रु र गाडीलाई समेत निकै समस्या थियो । जाम एकदम बढ्दै थियो । अहिले पार्किङ्गले पनि राहत पाएको स्थिति देखिँदैछ । ठेला हटाएर, व्यापारीहरुलाई लखेटेर तत्काल सर्भिस लेनको एकतर्फी पार्किङको व्यवस्था मिलाइएको छ । 

यसैबीच,स्मरण रहोस् कि नेपालको मध्यभूभाग चितवनकै वाल्मीकि आश्रम, दारनाला दारीचुरेको सयौं हेक्टर जमिन अतिक्रमण भैरहेको खबर छ । 

गरे के हुँदैन यहाँ ? सुन फल्छ । २–३ हप्ता भयो, भरतपुर,नारायणगढको रुप फेरिँदै गएको । 

अहिले भरतपुर ओरालोदेखि माथि चौबीसकोठीमा पनि यस्तै सफाइ भएको छ । 

नेपाली सेनाको अधिकृत पृष्ठभूमिबाट आएका महानगर प्रहरी प्रमुख डिएसपी कृष्णहरि ढकाल आफ्नो जिम्मेवारीमा अब्बल देखिएका छन् । ६ महिना अघि नियुक्त भएका उनले बजार क्षेत्र बाहिरका इलाकामा समेत पेट्रोलिङ गरी बजार व्यवस्थापन तथा अनुगमन गरिँदै आएको बताए । सबैमा जानकारी रहोस्, यो रिपोर्टर अस्ति काठमाडौं पुग्दा कलंकीदेखि नै सडक–पेटी, चोक–गल्ली जताततै चोर–ठगहरुले निष्फिक्री बजार चलाइरहेकै देखियो । 

टिप्पणीहरू