सही मान्छे चिन्ने बेला यही हो हजुर

सही मान्छे चिन्ने बेला यही हो हजुर

मानवता नै तार तार हुने घटनालाई पनि मानिसहरूले अनेक तर्क गरेर, बहाना खोजेर सामान्य घटनाजस्तै पेश गरिदिन्छन् र सुन्नेहरू ए हो त नि ! भनेर त्यो कुरामा विश्वास गरिदिन्छन् । काठमाडौँ महानगरका प्रहरीले हजार, १५ सय रूपैयाँ जति लगानीको करिब–करिब पचास साठी वटा मकैका घोगा ठेलामा राखेर बेच्न सडकमा बसेका अत्यन्तै गरिब मजदुरहरूको ठेला घोप्ट्याई दिए र मकै लुटेरा शैलीमा ट्रकभित्र हालेर लगे । यो अत्यन्तै क्रूर, अमानवीय र हृदयविदारक घटना थियो तर बालेनपन्थी पुँजीवादका पृष्ठपोषकले यस्तो कुकृत्यलाई बटुवाको आवागमनमा बाधा उत्पन्न गराइएकाले हटाउन बाध्य भएको भन्ने पार्न खोजे ।

केही समय पहिलेसम्म नेपाल प्रहरीका जवान र माओवादी जनसेना गरिब जनताले पारेको कोदो, मकै, महुवाका घरपाला रक्सीको ग्यालेन घोप्ट्याउँदै र जाँड राख्ने माटाको घैलो फोर्दै हिँडिरहेका थिए । अहिले बालेनहरू गरिबका मकै खोस्दै हिँडिरहेका छन् ।

हजार रूपैयाँको काँचो मकै किनी त्यसलाई पोलेर बेचेर जीविका चलाउने मान्छेहरू कुन आर्थिक धरातलका होलान् ? गाउँमा कोदो, मकैको रक्सी पारेर बेच्ने मान्छे कुन हैसियतका हुने गर्छन् ? यो जान्ने चाहना, उत्सुकता र तिनको समस्या समाधान गर्ने विचार बालेन प्रवृत्तिका मान्छेमा हुँदैन । यस्ताका निम्ति सुकिलामुकिला मात्रै मान्छे कहलिन्छन् । यस्ता मानिसमा गरिबले कसरी, कति दुःख बेसाएर जीविका होइन कि गुजारा चलाएका हुन्छन् भन्ने कुराको आधारभूत ज्ञान पनि हुँदैन ।

रक्सी किन पार्छन् र बेच्छन् गरिबले ? छोराछोरीलाई स्कुलको ड्रेस, जुत्ता, बिहान अदुवा हालेको गुलियो कालो चिया खानलाई चिनी किन्न, लुगा धुने साबुन किन्न र चुँडिएको चप्पलको फित्ता फेर्न रक्सी पारेर बेच्छन् । मकै पोलेर बेच्नेहरूले पनि डेराभाडा तिर्न, स्टोभको मट्टीतेल किन्न, चामल, दाल तरकारी किन्न, बोर्डिङमा छोराछोरी पढाउन, उनीहरूको फिस तिर्न टन्टलापुरे घाममा बसेर, झरीमा भिजेर मकै पोली बेच्छन् । बालेनहरूलाई थाहा छ यी मकै पोलेर बेच्नेहरूले तिर्खा लाग्दा कोकाकोलाको बोतलमा घरबाटै भरेर ल्याएको तर दिउँसोको घामले तातेको पानी पिउँछन् भनेर ? अहँ, पटक्कै छैन । गरिबको गरिखाने माध्यममाथि कथित आवागमन रोकिएको बहानामा हमला गर्ने यिनीहरू वास्तवमा मान्छेका मित्र होइनन्, दुश्मन हुन् । यिनीहरूले बजाउने ‘गरिबको कोही छैन सहारा’ गीत भोट बटुल्ने फण्डा मात्रै हो ।

खासमा गरिबलाई जतिबेला र जुनसुकै बेला पनि अन्याय, अत्याचार गर्न, शोषण र दमन गर्न सकिन्छ । बालेनले मात्रै होइन अरुले पनि गरिबका बुकुरामाथि बुलडोजर चलाएर तिनको उठिबास लगाए, कतिको प्राण पनि हरण गरे । आज बालेनका सेनामेनाले जे गरे त्यो यसै मान्यतामा रहेर गरेका हुन् । उनीहरूको रक्सी पोख्न, मकै लुट्न आवश्यकै थिएन । मान्छेको निम्ति सबैभन्दा ठूलो कुरा नै बाँच्नु हो । आवागमनमा हुने कथित बाधा अड्चनले मान्छेको बाँच्ने अधिकारको हनन गर्दैन । तर, राज्यले गरिबको मकै लुट्दा, रक्सी पोख्दिँदा तिनीहरूको बाँच्ने अधिकार खोसिन्छ । तिनका परिवारले खान पाउन्नन्, लाउन, स्कुलको फिस तिर्न पाउन्नन् तसर्थ पढ्न पाउन्नन् ।

यदि साँच्चिकै आवागमनमा बाधा पुगेको हो भने तिनलाई सम्झाउन सकिन्थ्यो, अनुरोध गर्न सकिन्थ्यो र विकल्प नै दिन सकिन्थ्यो । त्यति ठूलो टुँडिखेल छ, माटो गिट्टी राखेर कुरूप बनाउनुको सट्टा एउटा समझदारी गरेर उनीहरूको व्यवस्थापन गर्न सकिन्थ्यो । अथवा तपाईंहरू भोलिबाट यसरी बाटोमा बसेर यो काम गर्न पाउनुहुन्न । यदि गरेमा सामान जफत गरिनेछ भनेको भए पनि ती गरिबले मान्ने थिए । तर, मानवतावाद हराएपछि मान्छेको जीवनभन्दा बढी महŒव सुकिलामुकिलाको आवागमन हुन्छ । दलाल पुँजीवादको भद्दा प्रकटीकरण हो यो ।

सेनाको तल्लो तहमा को भर्ना हुन्छन् ? प्रहरीको तल्लो दर्जामा को जान्छन्् ? नगर प्रहरीमा पनि को सामेल हुन्छन् ? यी सबै ठाउँमा भर्ना हुने र जागिर खानेहरू भनेकै गरिब, किसान र मजदुरका छोराछोरी हुन् । प्रधानमन्त्री, सेना र पुलिसका प्रमुख, मन्त्री, न्यायाधीशका छोराछोरीले यी कुनै पनि निकायको तल्लो तहमा जागिर खान्नन् । नियालेर हेरेमा सबै देखिन्छ कसका छोराछोरी कहाँ छन् भनेर । यो रक्सी पारेर, मकै पोलेर बेच्नेहरू पनि गरिब किसान, मजदुरहरू नै हुन् ।

तर, अवस्था कस्तो छ भने सेनामा, पुलिसमा, पालिकामा जागिर खाने गरिबका छोराछोरीहरूले नै फुटपाथमा ठेलागाडामा सामान बेच्ने आफ्नैजस्तै दयनीय आर्थिक अवस्था भएका गरिब व्यवसायीको ठेला उल्टाउँछन्, मकै खोस्छन्, रक्सी घोप्ट्याइ दिन्छन् र घैलो फुटाइदिन्छन् । दलाल पुँजीवादले गरिबको हातमा पैसा देख्न चाहन्न, उनीहरूका बालबालिकाहरूले पढेको सहन्न, राम्रो लगाएको, मीठो खाएको रुचाउन्न । औषधोपचार गरेको रचाउन्न । कज्याउन मात्रै चाहन्छ । यही कारण हो दलाल पुँजीवादका अनुयायी मान्छेले बाँच्नका निम्ति गरेको मिहिनेतलाई, संघर्षलाई सुकिला मुकिलाको आवागमनको अवरोध ठान्न पुग्छन् । गरिबविरुद्ध गरिबलाई प्रयोग गरेर शासन चलाउने दलाल पुँजीवादले राजनीतिक, सामाजिक तथा आर्थिक विकास गर्नबाट सबैलाई रोक्ने काम गर्छ । त्यसमा पनि धुवाँको मुस्लोभित्र हराएर ¥याप हान्दै झुम्मिने तथाकथित स्वतन्त्रबाट देशले गति लिन्छ, विकास गर्छ भनेर सोच्नुसम्म पनि मूर्खता हो ।

काठमाडौंमा ठेला घोप्ट्याउँदै मकै लुट्ने र गाउँघरमा रक्सीको घैला फोर्ने घटनाले के कुरा स्पष्ट गर्छ भने समाजवादबिना देशमा कुनै पनि प्रकारको न्याय पाइने छैन, समानता हुने छैन र समृद्ध समाज पनि बन्ने छैन । त्यसकारण न्याय र समानतामा आधारित समृद्ध नेपाल निर्माणको एक मात्र सही बाटो भनेको समाजवादको बाटो हो । अन्त्यमा, सत्तामा वा सत्ताको संरक्षणमा बसेका वामपन्थीहरू गरिबमाथि अत्याचार हुँदा चुँसम्म पनि गर्दैनन् भनेपछि हामीले तिनलाई वामपन्थी मानिदिनुपर्ने केही कारण छ र ? सबैले विचार गर्नुपर्छ र चिन्नुपर्छ को कस्ता छन् भनेर ।

टिप्पणीहरू