मनको शक्ति र प्रेमको भक्ति

मनको शक्ति र प्रेमको भक्ति

नजरको भाषा नजरले बुझ्दैन भने
अधरको भाका अधरले चिन्दैन भने
कसरी बताऊँ तिमीलाई आफ्नो कुरा ?
मनको कुरा मनैले सुन्दैन भने
आत्माको आवाज मुखले के भन्नु ?
हृदयको रहर कागजमा के पोख्नु ?
चाहन्छु तिमी स्वयं महसुस गर मलाई
मलाई हेरेरै बुझ मेरा चाहनाहरूलाई
नत्र सम्बन्ध जोडेको निरर्थक हुन्छ
भावनाको तरंगले एकअर्कालाई छुँदैन भने ।

हुन पनि रगतको नाताभन्दा भावनाको नाता गाढा हुन्छ भनिन्छ । मानिन्छ, प्रेम भावनाको कुरा हो र मनबाट पैदा हुन्छ यो । त्यसैले प्रेम सम्बन्धलाई दुई आत्माको मिलन पनि भन्ने गरिन्छ । भने प्रेममा एउटा मनको कुरा अर्काे मनले सुन्नुपर्ने होइन ? भावनाको तरंगले एकअर्कालाई छुनुपर्ने होइन ? यदि त्यसो हुँदैन भने कसरी हुन्छ प्रेम सम्बन्ध ?

साँचो प्रेममा ठूलो शक्ति हुन्छ, त्यो शक्ति मनबाटै पैदा हुने हो । हामीले सच्चा प्रेम गर्न नसकेर महसुस गर्न नसकेका हौं कि ! नत्र हर्ट टु हर्ट कनेक्सन हुनै नसक्ने नहोला । सच्चा प्रेमी÷प्रेमिकालाई त्यो महसुस हुनुपर्ने हो । साँचो–पवित्र प्रेम सम्बन्ध एकपटक जोडिएपछि मन अन्त मोडिँदै मोडिँदैन । आँखालाई अरू कोही रुच्दै रुच्दैन । नजरको भाषा नजरले चिनोस्, अधरको भाका मिलोस् । एउटा मन टुट्दा अर्काेलाई पीडा हुनुपर्छ । एउटाको आँसुमा अर्काे रुनुपर्छ । गाँसिएको दुई मनबीच यति घनिष्टता होस् कि शरीर जति टाढा भए पनि, नजरले देख्दै नदेखे पनि एउटाको हाल अर्काेलाई आभास होस् । एउटाले सम्झिँदा अर्काेमा याद पुगोस् । तब न प्रेम गरेको सार्थकता हुन्छ, प्रेममा परेको मज्जा आउँछ । होइन भने के प्रेम गरेको भन्नु ? कसरी प्रेममा परेको ठान्नु ? एकअर्काको भावनाको ख्याल हुँदैन, जसलाई देख्यो ऊप्रति मन जान्छ भने त्यसलाई प्रेम मान्नु गलत हो ।

कसैलाई ‘आई लभ यु’ भन्न जति सजिलो छ, प्रेमलाई निभाउन त्यति सहज छैन । तर, प्रेमको गहिराईमा डुब्न सक्यो भने आनन्दको मोती भेट्न गाह्रो पनि छैन । खालि प्रेम सागरमा निश्चल(निश्छल मनले पौडिन जान्नुपर्छ । तर, एउटाको प्रयासले मात्र ‘डिपलभ’ हुन सक्दैन, दुवैको प्रयत्न उत्तिकै हुनुपर्छ । किनकि दुई हृदयको चाहनाबिना प्रेमको तराना सम्भव छैन । माथि नै भनिसकियो कि दुई आत्माको मिलन हो प्रेम । तर, प्रेममा डुब्न अलिकति पागलपनचाहिँ हुनुपर्छ किनकि त्यहाँ दुनियाँको पर्वाह हुनुहुँदैन ।

मान्छेको मनमा अथाह शक्ति छ । संसारमा जे–जति आविष्कार भएको छ, मान्छेको मनको कल्पना वा मनोभावनाबाटै सिर्जित हुन् भनी बताइरहन पर्दैन । मोबाइलकै कुरा गरौं, बिनातार एक ठाउँबाट अर्काे ठाउँमा कुराकानी हुन्छ । सात समुद्रपारि पनि कनेक्सन हुन्छ । मान्छेको मनले सोचेर बनाएको चीजमा त्यत्रो सामथ्र्य छ भने मान्छेको मन–मनबीच सञ्चार हुन किन नसक्ला ? मोबाइलमा मिस्डकल गरेजस्तै एक मनले सम्झेको छनक अर्काे मनमा किन नपुग्ला ? कहिलेकाहीँ बाडुली लाग्दा कसैले सम्झेको भन्छौं नि ! महसुस गर्न सके के नहोला ? हामीलाई कसैको याद आउँदा उसको मनमा हाम्रोबारे केही, कुनै भावना नखेल्दो हो त ? हाम्रो चिन्तन(मनन् पो नपुगेको हो कि ! अझ प्रेम सम्बन्धमा त एउटा मनको आवाज अर्काेलाई साँच्चिकै अनुभूत हुनुपर्ने हो । किनकि दुई आत्माको मिलन हो प्रेम ।

टिप्पणीहरू