राजधानीमा उर्दु आदाबको रौनक-वाह वाह,क्या बात है भन्दै झुमे नेपाली
हिजो साँझ राजधानीमा आयोजित उर्दु आदाबमा त्यसका पारखीहरु आनन्दले झुमे । काठमाडौंस्थित पाकिस्तानी दूतावासले स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाउने क्रममा उक्त कार्यक्रमको आयोजना गरेको बताइएको छ । पाकिस्तान १४ अगस्ट (भोलि) को राती हिन्दुस्तानबाट छुट्टिएको हो । त्यसपछि पर्सि बल्ल भारतको स्वतन्त्रता दिवस मनाउने चलन छ ।
‘नेपाल और उर्दू आदाब’ शीर्षकको साहित्यिक कार्यक्रममा नेपाल, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) का साहित्यकारहरुको जमघट थियो । तीन देशका प्रसिध्द कविहरूमा डा.जुबैर फारुक,डा. साकिब हारूनी,सैयद खालिद मोहसिन,सहर महमुद,इम्तियाज वफा,जमसेद अन्सारी,फुरकान फैजी,असद कामरान,भोन निस्तज, सुश्री शान्ति शर्मा,जफर अहमद अलिग र सुश्री संगिता पामग्रले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
त्यसैगरी नेपाली लेखक तथा कवि डा. अब्दुल मुबिन खानद्वारा लिखित ‘अहाङ–ए–हिमाला’ पुस्तक पनि विमोचन गरिएको थियो । कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथि र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथि हुनुहुन्थ्यो । त्यसैगरी राजनीतिज्ञ,सेवारत तथा सेवानिवृत्त पदाधिकारी,बुध्दिजीवी,सामाजिक अभियन्ता,पत्रकार,लेखक, विश्लेषकलगायत समाजको विभिन्न तहका व्यक्तिको सहभागिता रहेको दूतावासले जनाएको छ ।
सहभागी अतिथि सबैले यस्ता कार्यक्रमले दुई मुलुकबीचको जनस्तर र साहित्यिक सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा राखेको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद हैदर साहले सहभागी सबै कवि तथा लेखकहरूको सराहनीय योगदानको प्रशंसा गर्नुभएको छ । राजदूतले नेपाल र पाकिस्तानका साहित्यिक निकायहरूबीचको सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड पनि दिनुभएको छ ।
टिप्पणीहरू