काभ्रेमा यसरी पाक्दै छ चुनावी खिचडी
स्थानीय तहको निर्वाचन सकिएको ७ महिनापछि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खिचडी शुरु भएको छ । एमालेले काभ्रेमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निम्ति पुनः गोकुल बाँस्कोटालाई उम्मेदवार बनाउनेछ भने १ र प्रदेश सभाबारे छलफल चलाएको छ । सत्तानिकट दलहरूको गठबन्धनका कारण कोही बोल्न सकेको छैन । कुन क्षेत्र कसलाई छाड्नुपर्ने हो ? पर्ख र हेरको अवस्थामा कांग्रेस, माओवादी र नेकपा समाजवादी छन् भने साना दल उम्मेदवारी दिने तयारीमा जुटेका देखिन्छन् । गठबन्धनका कारण एमालेले हिजोका स्थानीय तह गुमाइसकेको छ भने आउँदो निर्वाचन परीक्षाका रूपमा रहेको छ । झण्डै ३ लाख ११ हजार मतदाता हुनेछन् ।
माओवादीलाई क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र क्षेत्र नम्बर २ समाजवादीलाई दिएर प्रदेशको चारवटै सिट कांग्रेसले लिने चर्चा छ भने समाजवादीलाई प्रदेशतर्फ एक सिट दिएर प्रतिनिधि सभा २ कांग्रेसले लिनेबारे छलफल भएको छ । यसअघि १२ वटा पालिका प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएकाले यो पटक परिणाम सुखद रहने तिनमा आत्मविश्वास देखिन्छ ।
निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले सहमतिका आधारमा १७ वटा मतदान केन्द्र परिवर्तन गरेको छ । खानीखोला गाउँपालिका– २ स्थित साविकको गाविस भवन फलामेटारको मतदान केन्द्र बालविकास माविमा सारिएको छ । उक्त स्थानमा१ हजार २ सय २८ मतदाता छन् । तेमाल गाउँपालिका– ९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा लगिएको छ । उक्त केन्द्रमा २ हजार ९ सय २८ मतदाता छन् । सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा मतदान केन्द्र परिवर्तन भएका छन् । जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको छ भने वडा नम्बर ३ को कालिका आधारभूत विद्यालय भेडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै, वडा नम्बर ६ को कालिगंगा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा पुर्याईएको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिका–९ को बागदेवी आधारभूत विद्यालय भवन बाग्माराबाट नेपाने बुद्धपार्कमा सारिएको छ । वडा नम्बर १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा लगिएको छ । पनौती नगरपालिका– २ को वडा भवनबाट कुशादेवी माविमा सारिएको छ । वडा नम्बर २ को ३ नम्बर वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय माविमा सारिएको छ । वडा नम्बर ६ को वडा कार्यालय दलिञ्चोकबाट गोरखनाथ आधारभूत विद्यालय दलिन्चोकमा सारिएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको छ भने महाभारत गाउँपालिका– ५ को गाविस भवन बूढाखानीबाट ग्रामोन्नती मावि चार किल्ला पु¥याइएको छ । वडा नम्बर ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ । रोशी गाउँपालिका– ५ को गाविस भवन लुरपुङ्गडाँडाबाट भूमिस्थान माविमा सारिएको छ । बनेपा नगरपालिका– १२ का दुबै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा सारिएको छ भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा लगिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को लागि तयार भएका मतदातामा यो पटक ८ हजार ६ सयले थप फोटो खिचाएका छन् । यसअघि ३ लाख ३ हजार ५ सय ६० मतदाता योग्य थिए ।
यस्तो थियो ०७४ को परिणाम
२०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गर्दा दुई प्रतिनिधि सभा र चारवटा प्रदेश सभामा विजय हासिल गरेका थिए । एमालेबाट निर्वाचित निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेश सभाका दुईवटै सदस्य अर्काे पार्टीमा गएका छन् । एमालेको आफ्नै मत भने अन्य पार्टीको तुलनामा धेरै छ ।
टिप्पणीहरू