कुमारी आमालाई टिचिङबाट प्रहरी अस्पताल पुर्याइयो
कुमारी आमा निहारिका राजपुतलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट महाराजगञ्ज, पानीपोखरीस्थित नेपाल प्रहरी अस्पताल सारिएको छ । टिचिङ हस्पिटलको मानसिक वार्डमा भर्ना गरिएकी राजपुतको स्वास्थ्यमा समस्या आएको देखाउँदै प्रहरीले अस्ति रातिदेखि अस्पताल स्थानान्तरण गरेको हो ।
१७ वर्षकै उमेरमा बलात्कारपछि आमा बनेकी उनी पटक पटक अनसन बस्दै आएकी छन् । गत जेठमा सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि उनी साउन २० गतेदेखि बसन्तपुरमा अनसन बस्दै आएकी थिइन् । अघिल्लो साता उनले राष्ट्रपति भवन, शीलत निवास बाहिर आत्मदाहको प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएर केहीबेर प्रहरी वृत्त महाराजगञ्जमा र त्यसपछि टिचिङ हस्पिटलको इमर्जेन्सी वार्डमा भर्ना गरेको थियो ।
केही दिन सोही अस्पतालको मानसिक वार्डमा उपचार गराएपछि उनलाई अहिले प्रहरी अस्पताल पुर्याइएको हो । उनले अहिले पनि अनसन जारी राखेको स्रोतले बताएको छ । यसअघि उनले सिंहदरबार र सर्वोच्च अदालत बाहिर अनसनको प्रयास गरेकी थिइन् । त्यसबखत पनि प्रहरीले लछारपछार गर्दै बसन्तपुर पुर्याएर छाडेको थियो ।
शीतल निवासले समेत चासो लिएको निहारिकाको मागप्रति सरकार संवेदनशील भएको बताइएको छ । तर, त्यसतर्फ कुनै पहल नभएको पीडितको आरोप छ ।
टिप्पणीहरू