रविन्द्र मिश्रका विश्वासपात्रले विवेकशीलको जिम्मेवारी छाडे
विवेकशील साझा पार्टीमा एकपछि अर्को समस्या देखिन थालेको छ । एकपछि अर्को आन्तरिक किचलोमा फसेको उक्त पार्टीका नेताहरु एकपछि अर्को जिम्मेवारीबाट हट्न थालेका हुन् । मार्ग परिवर्तनका नाममा निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राजतन्त्र फर्काउने अभियानमा लागेपछि पार्टीका प्रवक्ता शरदराज पाठकले पनि जिम्मेवारी त्यागेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुुन् । २०७७ पुस ७ गतेदेखि पार्टीको प्रवक्तामा छानिएका पाठकले विवेकशीलमा चर्किएको अन्तरसंघर्षमा मिश्रलाई साथ दिँदै आएका थिए ।
स्थानीय चुनावमा पार्टीले शर्मनाक हार व्यहोरेपछि गत जेठमा मिश्रले पनि अध्यक्षबाट राजीनामा दिएका थिए । साउन २९ गते उनको राजीनामा स्वीकृत गर्दै विवेकशीलले स्थानीय चुनावमा काठमाडौँ महानगरको मेयरमा लज्जास्पद पराजय भोगेकी समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको थियो ।
मिश्रको ’मार्ग परिवर्तन’ले वैकल्पिक राजनीतिक शक्ति निर्माणको औचित्य सिद्ध गर्न नसक्ने भन्दै विवेकशीलका थुप्रै चर्चित नेताहरुले यसअघि नै पार्टी छाडिसकेका छन् ।
टिप्पणीहरू