बग्गीखानाबाट प्रचण्डको घोषणा : कर्मचारीका माग पूरा गराउँछु
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
पार्टी निकट अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले संघले उठाएका माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्नेलगायत माग राखेकोमा त्यो पूरा गराउने विषयमा आफ्नो सहयोग रहने प्रचण्डको भनाइ छ ।
श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरुको आत्मसम्मानका लागि आफूहरुले धेरै संघर्ष र बलिदान गरेको प्रसङ्ग उल्लेख गर्दै सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधान परिमार्जन र विकसित गर्नुपर्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो ।
संघको चौथो राष्ट्रिय सम्मेलन सिंहदरबार अगाडि बग्गीखाना नजिकैको पार्टी प्यालेसमा जारी छ ।
टिप्पणीहरू