डाक्टरी पढाउनेको मापदण्ड तोकियो

डाक्टरी पढाउनेको मापदण्ड तोकियो

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यापन गराउने शिक्षकहरुका लागि नयाँ मापदण्ड ल्याएको छ । चिकित्साशास्त्रको स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउने शिक्षकको उमेर, योग्यता र पदलगायतका विषयमा एकरुपता ल्याउन आयोगले नयाँ मापदण्ड तोकेको हो ।

आयोगले स्वीकृत गरेको ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ मा शिक्षकको पद राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ बमोजिम प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक हुनेछ ।

विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाअन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्राध्यापकका लागि सम्बन्धित विषयमा डिएम, एमसीएच, पिएचडी वा सोसरह शैक्षिक योग्यता हासिल गरेको र सह–प्राध्यापक तहमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त भएको हुनुपर्छ ।

त्यस्तै, १५ वर्ष शिक्षण र सम्बन्धित विषयमा कम्तीमा ६ वटा मौलिक अनुसन्धान लेख प्रकाशन गरेको हुनुपर्ने आयोगले जनाएको छ । जसमध्ये कम्तीमा दुई वटा लेख मुख्य लेखकको हुनुपर्ने मापदण्ड तोकिएको छ । सहप्राध्यापकको हकमा सम्बन्धित विषयमा डिएम, एमसीएच वा सोसरह शैक्षिक योग्यता र पाँच वर्ष उपप्राध्यापक भएर काम गरेको अनुभव हुनुपर्नेछ ।

साथै, सम्बन्धित विषयमा कम्तीमा ६ वटा मौलिक अनुसन्धान लेख प्रकाशन भएको र दुई वटा लेख मुख्य लेखकको हुनुपर्नेछ । प्रतिष्ठान/विश्वविद्यालय/बोर्ड वा मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातकोत्तर तह र काउन्सिलमा स्नातकोत्तर तहको विषय दर्ता भएको शिक्षक उपप्राध्यापक बन्न सक्नेछन् ।

नर्सिङ विद्याका शिक्षक (फ्याकल्टी) का लागि विद्यावारिधि अनिवार्य गरिएको छैन् । सबै विधाका शिक्षकको उमेर ७० वर्षभन्दा बढी हुन नपाउने भनिएको छ ।

टिप्पणीहरू