देशलाई तपाईंले के दिनुहुन्छ देन ?
सत्ता सञ्चालनमा सुझबुझपूर्ण निर्णय नगर्दा थुप्रै शासकले अकल्पनीय बहिर्गमन भोग्नुपरेको उदाहरण छ । २४० वर्षे शाही शासन ढल्नुमा पूर्वराजा ज्ञानेन्द्रको तानाशाही शैलीलाई मुख्य कारण मानिन्छ । १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आएर २०६४ को चुनावबाट पहिलो शक्ति भएको माओवादी एकाएक सत्तामा पुग्दा उन्माद थेग्न सकेन । फलतः ‘कटुवाल काण्ड’ले प्रचण्डलाई कुर्सीबाट झारेर सडकमा पु¥याइदियो । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उतिबेलै राजाले ‘अक्षम प्रधानमन्त्री’ को टीका लगाइदिएका थिए । त्यतिबेला गरेको निर्णयले उहाँमाथि प्रजातन्त्र दरबारमा बुझाएको आरोप अहिले पनि लाग्ने गरेको छ ।
वामपन्थीलाई अगाध विश्वास गरेर जनताले दिएको झण्डै दुई तिहाइ जनमत सम्हाल्न नसक्दा एमाले अध्यक्ष केपी ओलीले अल्पकालमै सत्ताच्यूत हुनुप¥यो । पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट पाएको कम्युनिष्ट पार्टीको अध्यक्षका रूपमा कुर्सीमा उक्लनुभएका उहाँ प्रतिनिधिसभा विघटन गर्ने निर्णयले साढे ३ वर्ष नपुग्दै बालुवाटारबाट बालकोट फर्किनुपरेको हो । ओलीले गरेको एउटा निर्णयले निम्त्याएको क्षतिको भर्पाइ अहिले पनि वामपन्थी आन्दोलनले गरिरहेको छ । शक्तिशाली नेकपा चार टुक्रामा विभाजित हुँदा २३ सिटे कांग्रेसको काँधमा मुलुकको जिम्मेवारी पुगेको छ ।
संघ र प्रदेशका सरकारमा नेतृत्व गुमाएको ओली नेतृत्वको एमालेको भागमा त्यसयता पराजयसिवाय अरु केही छैन । राष्ट्रियसभा, बार एशोसिएसन, इञ्जिनियरिङ, पत्रकार महासंघ, सञ्चारिका समूह हुँदै स्थानीय तहको चुनावसम्म आइपुग्दा एमाले निकै कमजोर बनिसकेको छ । विद्यमान राजनीतिक समीकरणमा नाटकीय परिवर्तन नभए मंसिरपछि एमालेको हातबाट राष्ट्रपति पनि फुस्किने निश्चित छ ।
परिस्थिति कस्तो भएको छ भने संसदमा यथेष्ट छलफल गरेर त्यहीँबाट विधेयक रोक्न सक्ने तागतमा क्षयीकरण हुँदा शीतल निवासका निर्णयको स्वागतमा तत्कालै खुशियाली मनाउनु पर्ने अवस्थामा एमाले नेताहरू पुगेका छन् । राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपतिको सदाशयता नहुँदा संसदमा एमालेको हालत नाजुक हुने तथ्य नागरिकता विधेयक फिर्ता र एमालेको खुशियालीले प्रष्ट्याएको छ । रूपमा जे–जे अर्थ लगाइए पनि सारतः यो केपी ओलीको पुस ५ को निर्णयकै उपज हो ।
श्रृंखलाबद्ध पराजयका बाबजुद पनि आत्मसमीक्षा गरेर नयाँ ढंगले अघि बढ्ने तत्परता ओलीमा देखिँदैन । मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्षका हैसियतले त्यो आँट गर्नुपर्ने हो । तर, एक कदम पछि हट्ने हिम्मत नगर्दा आज वामपन्थी आन्दोलन विसर्जनको डिलमा पुग्ने खतरा बढेको छ । विगतका कमजोरी सच्याएर एकताबद्ध हुन अन्य वामपन्थी शक्तिलाई अपील गर्नुपर्नेमा ‘गठबन्धनले देश टुक्राउन खोज्यो, हामीले चुनाव जित्नुको विकल्प छैन’ भनेर सतही र उडन्ते तर्कमा उहाँ रमाइरहनुभएको छ । यसले न वाम आन्दोलनको सेवा गर्छ न दक्षिणपन्थको यात्रा रोक्न भूमिका खेल्छ ।
सर्वोच्च अदालतले असंवैधानिक करार गरिसकेको संसद विघटनको निर्णय गलत थियो भनेर एकलाइन लेखिदिँदा वाम आन्दोलन एकताबद्ध हुने सम्भवनाको ढोका खुल्छ भने त्यो आँट, हिम्मत र तत्परता किन नदेखाउने ? एमालेका इमान्दार नेता–कार्यकर्ताले यो प्रश्न जोडदार रूपमा उठाउन सक्नुपर्छ । हिजो माक्र्सवाद नै त्यागेर निकै टाढा पुगिसकेका बाबुराम भट्टराई गोर्खाको एक सिटका लागि ‘हँसिया हथौडा’ को झण्डा समात्न आइपुग्न हुने अनि वाम आन्दोलनको रक्षाका खातिर ओली लचिलो हुन किन नसक्ने ? यो सरल, सहज र स्वाभाविक बाटो छोडेर राजावादी राजेन्द्र लिङ्देन, कट्टर हिन्दुवादी कमल थापा, महन्थ र हृदयेशजस्ता पार्टीसँग चुनावी तालमेलको प्रयास उल्टो बाटो हो ।
भनिन्छ, एकअर्काको धुरन्धर आलोचक बाबुराम र ओलीमा एउटा अनौठो समानता छ । घटनाक्रमले के पुष्टि गर्छ भने उहाँहरू दुबैका लागि पार्टी र आन्दोलनभन्दा पनि आफू चुनाव जित्ने कुरा प्राथमिकतामा परेको छ । जसरी अहिले बाबुराम चुनाव जित्न हँसिया–हथौडा लिन तयार हुनुभयो ओलीले ०७४ मै वाम गठबन्धन हुँदाहुँदै राजेन्द्र लिङ्ग्देनलाई समेटेर आफ्नो क्षेत्र पक्का गराउनुभएको हो । सार्वजनिक मञ्चबाटै ‘बाच्छो’ को संज्ञा दिएर कमजोर आँकिएका उनै लिङ्गदेनसँग फेरि तालमेल गर्ने ओलीको तयारी बाबुरामको जस्तै आफ्नो सिट सुरक्षित गराउने उपाय मात्रै हो । त्यो पनि कुनै बेला भद्रकालीको सडकमा प्रचण्डसँग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी र हाल राप्रपा नेत्री रेखा थापालाई मध्यस्थकर्ता बनाएर ।
त्यसैले त बालकोट निकटहरूको गुनासो छ, ‘बा’ ले आफ्ना लागि मात्रै सोच्नुभयो । ‘भ्रष्टाचारको आरोप लागेपछि गोकुल बाँस्कोटाको तत्कालै बचाउ गरेजस्तै चुनाव जिताउनका लागि त्यस्तै चिन्ता लिनुपर्ने हो तर, उहाँ प्रचण्डलाई हराएर विक्रम पाण्डेलाई र माधव नेपाललाई लडाएर अनिल झालाई काँध हाल्ने चिन्तामा हुनुहुन्छ । आफ्ना मान्छे जिताउनेभन्दा कमल थापा जिताउने चिन्तामा हिँडेपछि कसको के लाग्छ र !’, एक नेताले भने । ओलीको एउटा निर्णयले अहिलेको परिस्थिति पैदा भएको र सबैभन्दा ठूलो पार्टीको नेताका हैसियतले मिलाउने जिम्मेवारी पनि एमालेकै भएकाले प्रश्न ओलीतिरै सोझिनु स्वभाविक हो ।
तथापि प्रचण्ड, माधव, झलनाथहरूले पनि कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि उदारता देखाउन सक्नुपर्छ । पहिलो पुस्ता राजनीतिबाट बिदा नहुँदासम्म वाम आन्दोलन जोगाउन नसकिने युवाहरूको चिन्ताप्रति चिन्तन गर्नुपर्छ । सम्भवतः यो निर्वाचन केपी, प्रचण्ड, माधव, झलनाथ, वामदेव, ईश्वरलगायत थुप्रै पहिलो पुस्ताका नेताको लागि अन्तिम हुनसक्छ । त्यसैले सक्रिय राजनीतिक जीवनको उत्तराद्र्धमा संमृद्ध, बलियो, शक्तिशाली पार्टी दोस्रो पुस्तालाई जिम्मा लगाएर अभिभावकत्व ग्रहण गरी बस्ने अवसर नेताहरूका लागि अहिले पनि छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्सेतुङले आफू शक्तिशाली हुँदाहुँदै चाउएनलाईलाई सरकारको सबै राजपाठ जिम्मा लगाउनुका साथै ह्वाकोफङलाई उत्तराधिकारी बनाएर आफू जीवित हुँदै नेतृत्वमा ल्याएका थिए । तङस्याओ फिङलाई पार्टीको महासचिव र उपप्रधानमन्त्री बनाएर माओले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको दृष्टान्त दिने गरिन्छ । नेताहरूको क्षमता चिन्ने र त्यहीअनुसार जिम्मेवारी दिने माओको बिचारको यहाँका कम्युनिष्ट नेताहरू प्रशंसा पनि गर्छन् । तर, आफैँ भने त्यसअनुसारको व्यवहार गर्न चाहँदैनन् । न माक्र्सवादको क्लास चलाएको छ न बहुदलीय जनवादको । आई लभ यु बा भन्ने भीड जम्मा गरेर मोटर साइकलको एस्कर्टिङमा रमाउने र अरुको भन्दा छुट्टै आसनमा बस्नुपर्ने नेता देखेको कार्यकर्ता पंक्तिले त्यसबाट के सिक्ला कुन्नि ? भाषणहरूमा माओको कोटेसन सुनाउने शीर्ष नेताहरू क्षमता पनि चिन्दैनन् । नेतृत्व विकास नहुनुमा यो पनि एउटा कारण हो ।
बिचौलिया दलालहरूको घेरामा रहेको नेतृत्वले श्रमजीवी जनता र इमान्दार कार्यकर्ताको सही मूल्यांकन गर्न सक्दैन । कोमल वली, शर्मिला पराजुली ढकाल, अञ्जान शाक्य, निरुपाल, सुर्जे कुमारीहरूले घण्टौँ कुराकानी गर्न पाउने ओलीसँग अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, राधा ज्ञवाली, तीर्था गौतम, विश्वेश्वर दाहाल, जीवन घिमिरे, थममाया थापाहरूका निम्ति समय नरहेको गुनासो एमाले नेताहरूले गर्ने गरेका छन् । यो सबैबाट हैरान एमालेकै युवापुस्ता वाम तालमेलको पक्षमा विस्तारै खुल्न थालेको बताइन्छ ।
एमालेसम्बद्ध निजामती कर्मचारी संगठनको अध्यक्ष लेखनाथ कोइराला, युवा संघका किरण पौडेलहरू मिल्नुपर्छ भन्ने लाइनमा छन् । तर, ओलीलाई बोक्ने बीचको पंक्ति त्यसमा बाधक बनेको आरोप छ । युवा संघका इञ्चार्ज महेश बस्नेत र संगठन विभाग प्रमुख खगराज अधिकारीको छुट्टाछुट्टै धार छ । उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल एकातिर हुँदा महासचिव शंकर पोखरेलहरूको अर्को लबी छ । विष्णु र सुवास वामपन्थी एकताको पक्षमा हुँदा शंकर भने ओलीकै शैलीमा एक्लै भिडेर सबैलाई सोत्तर पार्ने अभिव्यक्ति दिइरहेका छन् । यस्तै अभिव्यक्ति स्थानीय चुनावअघि पनि सुनिएको हो तर परिणाम सबैका सामु छर्लंग छ ।
टिप्पणीहरू