बोलेको ठेगान नभएपछि भुइँमा बसे विद्यार्थी नेताहरु
आफ्ना माग पूरा नभएपछि अनेरास्ववियु केन्द्रीय समितिका नेताहरुले त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयमा पलेटी कसेका छन् ।
परीक्षा प्रणाली सुधार गर्नुपर्ने,बडापत्र र हटलाइनको व्यवस्था गर्नुपर्ने,पोहोर सालको प्रश्नपत्र हुबहु बनाउनेलाई कारबाही गर्नुपर्नेलगायतका १० बुँदे माग सम्बोधन नभएपछि समितिका अध्यक्ष शम्भु भट्टलगायत तीन जनाले पलेटी कसेका हुन् ।
उनीहरुले गत साउन २ गते आफ्ना मागसहितको ज्ञापनपत्र परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बुझाएका थिए ।
परीक्षा नियन्त्रक जोशीले एक साताभित्र सम्पूर्ण माग पूरा गरिदिने भन्दै मौखिक प्रतिबद्धता जनाएपनि हालसम्म कार्यान्वयन नगरेको उनीहरुको भनाइ छ ।
स्नातकोत्तर तह प्रथम वर्षको नतिजा प्रकाशन गर्न नसकेको र बडापत्रको व्यवस्थासमेत नमिलाएकाले कुर्सीमा बस्नुको औचित्य नभएको उल्लेख गर्दै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखिएको छ ।
यता, परीक्षा नियन्त्रक यतिबेलासम्म पनि कार्यालयमा उपस्थित भएका छैनन् भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरको प्रहरी टोलीले पलेटी कसेकाहरुलाई सुरक्षा दिइरहेको छ ।
टिप्पणीहरू