द्वन्द्वपीडित सुरक्षाकर्मीहरु सर्लक्कै सडकमा
सशस्त्र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग (टिआरसी) सम्बन्धी बिधेयक संसदबाट पारित गर्ने तयारी गरिरहेका बेला द्वन्द्वपीडित सुरक्षाकर्मीहरु विभिन्न माग राखी सडक संघर्षमा ओर्लिएका हुन् ।
केही दिनयता प्रदर्शन गरिरहेका उनीहरु आज बानेश्वर पुगेर सडकमै नाराजुलुससहित धर्नामा बसेका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिकाे आयाेजनामा माइतीघर मण्डलाबाट जुलुससहित निस्केका प्रदर्शनकारीहरुले बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको सडकमा धर्ना दिएका हुन् ।
सो क्रममा उनीहरुले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन २०७१” लाई संशोधन गर्न बनेको विधेयकमा सुरक्षाकर्मीतर्फका पीडितहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै,सुरक्षा अंगमाथि भैरहेका राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, द्वन्द्वमा घाइते भएका अशक्त सुरक्षाकर्मीहरुको योगदानको राज्यले उच्च मूल्यांकन गर्नुपर्नेलगायतका माग राखेका छन् । सुरक्षाकर्मीतर्फका पीडितहरुलाई सम्मानजनक राहत र परिपूरणको व्यवस्था गर्न पनि माग गरेका छन् ।
आन्दोलनकारी पीडित सुरक्षाकर्मीहरुले ‘बहादुर सुरक्षाकर्मीको कदर गर’, ‘सम्मानजनक न्याय लिएर छाडौँ’, ‘सत्य निरुपण आयोगबाट धोका भयो’,’द्वन्द पीडित सुरक्षाकर्मीकाे परिवारलाई न्याय दे’, ‘मानव अधिकारकाे गम्भीर उल्लंघनकर्तालाई कारबाही गर’, ‘सुरक्षाकर्मी नरहे नेपाली रहन्न’, लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल,घाइते तथा अपांग सुरक्षाकर्मी सँघ,एकल महिला तथा घाइते परिवार समूह, अमर प्रहरी एकल महिला सँघ र सशस्त्र प्रहरीसँग आबध्द सँघको संयुक्त सहकार्यमा द्वन्द्व पीडित सुरक्षाकर्मी र द्वन्द सुरक्षाकर्मी परिवार संघले आयोजना गरेको धर्ना कार्यक्रममा रिता कार्कीको नेतृत्वमा पाँच दर्जनको उपस्थिति छ ।
टिप्पणीहरू