मेयर भेट्न क्रान्तिकारीहरु नगरपालिकामा, विद्यालय शिक्षा निःशुल्क बनाउन माग

मेयर भेट्न क्रान्तिकारीहरु नगरपालिकामा, विद्यालय शिक्षा निःशुल्क बनाउन माग

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अछामले माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क बनाउन माग गरेको छ । तीन बुँदे मागसहित क्रान्तिकारीका अध्यक्ष लाल बहादुर साउँदले आज पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेलाई ज्ञापनपत्र बुझाउँदै माध्यमिक तह सम्मको शिक्षा निःशुल्क बनाउन आग्रह गरेका हुन् ।

संविधानको शिक्षासम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको निःशुल्क पाउने व्यवस्था भएको उल्लेख गर्दै अध्यक्ष साउँदले ग्रामिण विद्यालयहरुले जथाभावी शुल्क असुलेको आरोप लगाए ।

पालिकाभित्रका विद्यालय प्रशासनले नियमित पठनपाठनमा समेत लापरबाही गरेको भन्दै उनले मेयर चलाउनेको गम्भिर ध्यानाकर्षण पनि गराएका छन् । विद्यालयहरु समयानुकूल रुपान्तरण गरी सबै विद्यार्थीहरुलाई निःशुल्क र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न मेयर चलाउनेसँग क्रान्तिकारीको माग छ ।

क्रान्तिकारीको तीन बुँदे मागपत्रमा विद्यार्थीको अनुपात अनुसारको शिक्षक दरबन्दी मिलान गर्न पनि भनिएको छ ।

टिप्पणीहरू