माइतीघरमा मीटरब्याज पीडितहरुको शान्तिपूर्ण धर्ना
मीटरब्याजीहरुलाई कारबाही नगरेको बताउदैं पीडितहरुले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका छन् । नवलपरासीका मीटरब्याज पीडितहरुले केही बेरअघिदेखि २१ औं दिनको शान्तिपूर्ण धर्ना शुरु गरेका हुन् ।
सुस्ता र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मीटरब्याजविरुद्ध संघर्ष समितिको आयोजनामा धर्ना शुरु भएको हो । स्थानीय मीटरब्याजी साहु सुनिल बानियाँ, जगदीश बानियाँ, सुजित बानियाँ र सुरेस बानियाँलाई कारबाही नभएपछि फेरिपनि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।
यसअघि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर आवश्यक कारबाहीका लागि सहयोग गरिदिन निर्देशन दिएको थियो । समितिका अध्यक्ष रामसुरत गुप्ताको नेतृत्वमा उपाध्यक्ष अशोकसिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद मुसलमान, सचिव किशोरी चमाईन, सहसचिव रामसुभाग मुसहरलगायत दुई दर्जनले गत असार २ गतेदेखि १३ गतेसम्म धर्ना दिएपछि गृहले पत्र काटेको थियो ।
तरपनि उनीहरुलाई कारबाही नभएपछि पीडितहरु पुनः सडकमा उर्लिएका हुन् । पीडितहरुले ‘गैरन्यायिक दृष्टिबन्धक तमसुक तथा छिनुवा पास अवैध घोषणा गर’, ‘उच्चस्तरीय न्यायिक आयोग गठन गर’, ‘किसान मार्न पाईदैन’, ‘किसानको जग्गा फिर्ता दे’, ‘सबै सुढ्खोरहरूको सम्पत्ति छानबिन गर’, ‘भु–माफियालाई कारबाही गर’, लगायतका प्लेकार्ड बोकेर नारा लगाएका छन् ।
टिप्पणीहरू