आफ्ना नागरिकलाई युक्रेन छाड्न अमेरिकी आग्रह

आफ्ना नागरिकलाई युक्रेन छाड्न अमेरिकी आग्रह

अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा भयानक रुसी आक्रमण हुने चेतावनी दिँदै किभस्थित आफ्ना नागरिकलाई तत्काल युक्रेन छोड्न आग्रह गरेको छ । रुसले युक्रेनको स्वतन्त्रता दिवसको दिन सरकारी भवनहरूमा आक्रमण गर्ने योजना बनाएको अमेरिकी गुप्तचर विभागले बताएको छ ।

अमेरिकाले रुसी हमलाको योजनाबाट आफ्ना नागरिकको सुरक्षाको बारेमा चिन्तित रहेको उल्लेख गरेको छ । किभस्थित अमेरिकी दूतावासले पनि युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न भनेको छ ।

उसले आफ्नो वेबसाइटमा राखेको सूचनामा ‘सुरक्षित छ भने आफ्नै तरिकाले भूमि तथा यातायात प्रयोग गरेर भए पनि युक्रेन छोड्न आग्रह गरिन्छ ।”

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको भोलि बुधवार ६ महिना पुग्दै छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य अधिकारीहरूले पनि मस्कोले युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा मिसाइललगायत तीव्र हमला गर्न सक्ने चेतावनी दिएका थिए ।

भोलि अगस्ट २४ युक्रेनको स्वतन्त्रता दिवस हो । युक्रेनको स्वतन्त्रता दिवसमा रुसले खतरनाक कदम चाल्न सक्ने बताइएको छ ।

टिप्पणीहरू