एमाले सचिवलाई एमालेकै युवा नेताले मुक्याए
नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिव नविन सिग्देललाई एमालेकै युवा संघका नेताले कुटेका छन् । हेटौँडा उपमहानगरपालिका ४ नं वडाध्यक्षसमेत रहेका सिग्देललाई वडा कार्यालयमै युवा संघका नेता एवं निवर्तमान जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले कुटपिट गरेका हुन् ।
स्रोतका अनुसार वडा नं ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको व्यवसायिक सटरहरु भाडामा लगाउने बिषयमा केही दिन यता विवाद हुँदै आएको थियो । सोही विवादका क्रममा झर्किएर बोलेपछि वडाध्यक्षमाथि लामाले मुक्का प्रहार गरेको बताइएको छ । प्रहारबाट वडाध्यक्षको मुख सुन्निएको छ ।
घटनापछि सिग्देलले जिल्ला प्रहरी कार्यालयमा उजुर दिएका छन् । घटनामा संलग्न लामा फरार छन् ।
जिल्ला अधिवेशनमा गुटबन्दी भएको र आफू अनुकूलका नेताहरुलाई मात्र जिम्मेवारी दिइएको बिषयमा केही समयदेखि पार्टीमा असन्तुष्ट रहेका लामा स्थानीय तहको चुनावमा पुन: पार्टीमा सक्रिय भएका थिए ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष सन्तोष न्यौपानेले भ्रष्टाचारीमाथि प्रहार भएको भन्दै घटनाको समर्थन गरेका छन् । उनले फेसबुकमा लामाको फोटो राखेर स्टाटस लेख्दै आफू लामाको पक्षमा रहेको बताएका छन् ।

टिप्पणीहरू