गरिबकी छोरीमाथि आगो बज्रिँदा परिवार महासंकटमा

गरिबकी छोरीमाथि आगो बज्रिँदा परिवार महासंकटमा

झुपडीभित्र दन्किरहेको आगोमा परेर मकवानपुरको राक्सिराङ गाउँपालिका ८, मैसिराङकी एक बालिका गम्भीर घाइते भएकी छन् । भदौ ३ गते बिहान ७ वर्षकी स्मृति चेपाङ आफ्नै झुपडीमा दन्किरहेको आगोमा परेकी हुन् ।

आगोमा परेर उनको अनुहार र शरीरका विभिन्न भागमा गम्भीर क्षति पुगेको छ । बिहानै खानेकुराको निम्ति अँगेनो छेउमा पुगेकी स्मृति अकस्मात आगोमा परेको उनका बाबु लोकबहादुरले बताए । आगोमा पर्नासाथ लोकबहादुरले छोरीलाई हतार हतार अँगेनोबाट बाहिर झिकेका थिए ।

आगोमा परेकी छोरी लिएर अहिले लोकबहादुर चितवनको भरतपुरस्थित अस्पताल पुगेका छन् । तर आर्थिक अभावका कारण छोरीको उपचारमा समस्या भएको उनले बताए । चिकित्सकले थप उपचारको निम्ति काठमाडौँ लैजानुपर्ने बताएपछि आफन्तको साथ र सहयोगमा छोरी लिएर काठमाडौँ जान लागेको लोकबहादुर बताउँछन् ।

कमजोर आर्थिक अवस्था र दैनिक हातमुख जोर्नैका लागि ज्यालादारी काम गर्नुपर्ने बाध्यताबीच अकस्मात छोरी आगोमा परेपछि लोकबहादुरको परिवारमा अर्को संकट थपिएको हो ।

टिप्पणीहरू