जापान पुगेर क्या भोगिँदैछ नि जिन्दगी
सेल्फी खिच्न र फेसबुकमा तस्बिर, देखाउनकै लागि हो त अब्रोड स्टडी ? आमा–बुबालाई लाखौँ खर्च गर्न लगाएर के बिदेसिनु नै सबैथोक हो ? प्रेमीलाई पैसा हाल्न लगाएर विदेशमा अर्कैसँग मोजमस्ती गर्नुलाई नै स्वतन्त्रता मान्ने हो भने किन जाने अब्रोड स्टडीमा ? आज विदेशमा नेपाली महिला कसैको पेट बोक्ने र पुरुष झुण्डिएर आत्महत्याको बाटो किन रोजिरहेका छन् ? एकथोक सोचेर विदेश पुगेका युवायुवतीमा किन यस्ता समस्या जन्मिरहेका छन् ? पर्दापछाडि के कारण छ ? कारण धेरै छन् । जुन एउटै शब्दमा भन्न सकिन्न ।
विद्यार्थी भीसामा जापान आएको चार महिना कट्नै लाग्यो । पहिलो महिनाको अवधिमा मलाई लागेको कुरा– नेपालभन्दा जापान कैयौँ गुणाले विकसित छ । नेपालमा थोत्रे रिक्सा गुड्छ, जापानमा मेट्रो र मोनोरेल कुद्छ । जापानमा घण्टाको न्यूनतम पारिश्रमिक पाइन्छ, नेपालमा महिनाभर काम गरे पनि साहुले ढुक्कसँग तलब दिँदैन । जापानमा फोहोरको डंगुर छैन, सडक चिल्ला र सफा छन् । त्यहाँका मानिस समयसँग हिँड्छन्, नेपालका मानिस अर्काको कुरा काट्छन् । जापानमा मार्कसिट बिक्दैन, सीप र क्षमता बिक्छ । नेपालमा सीप, क्षमता होइन नातावाद र कृपावाद बिक्छ । नेपालमा जसले बढी कुरा गर्छ उसको हाइट बढ्छ, जापानमा जसले कम बोल्छ र काम देखाउँछ उसको हाइट घट्दैन । यस्तै यस्तै कुरा ।
दोस्रो महिनाको कुरा– नेपालबाटै आएको कन्सल्टेन्सीले भनेपछि काम पाइयो । बिहान ६ बजेदेखि ९ बजेसम्म भोकेसनल कक्षा । तीन घण्टे कक्षा सकिएपछि कोठा फर्कियो । आएर बाथरुम छि¥यो, कोठा मिलायो, खाना खायो अनि रेस्ट । बेलुकी साढे ५ बजेसम्म अध्ययन गर्नेले पढ्यो, टिकटक, युट्युब र म्यासेन्जरमा झुत्तिने झुत्तियो । त्यतिञ्जेल जे–जे गर्न मन लाग्यो, ग¥यो । तर, ६ बज्नासाथ हत्तपत्त लुगा लगायो अनि साइकल चुइँकायो । काममा जाँदा साइकलको टाउकोको टोकरीमा खाजा बोक्नेले बोक्यो । नबोक्नेले ब्रेक टाइममा यसो जुससुस खायो, शौचालय गयो अनि फेरि काममा जोतियो । अनि बिहान ६ बजे कामबाट फर्कियो ।
तेस्रो महिनाको कुरा– मनमा नेपालबाट बोकेर आएको आशा र भरोसामा फिक्कापन महसुस हुँदै गयो । ६ महिनापछि त कोठाभाडा तिर्नुप¥यो । घर पनि पैसा पठाउनुप¥यो । पढाइको कोर्स झन् झन् जटिल र गाह्रो लाग्न थाल्यो । आफूसँगै आएका साथीभाइ हे¥यो चित्त बुझायो । पढाइ सम्झियो, पैसाको याद आउने, पैसा सम्झियो अपूरो पढाइ । बडो बिलखबन्द जिन्दगी ! दिमाग ह्याङ भए होस्टल गेटबाट साइकल निकाल्यो पार्कतिर चुइँकायो, साँझसम्म मनोरम दृश्यमा भुल्यो, फर्कियो । कोठा फर्केपछि हालत खराब– चामल छैन, तेल छैन, तरकारी सकिनै लागिसक्यो, फलफूलको टोकरी रित्तो, फ्रिजमा दुई टुक्रा मासु । त्यही टुक्र्यायो, पकायो अनि खायो ।
अहिले अर्थात् चौथो महिना– उही काम, उही समयमा पढाइ । घरको फोनले दिमागको फुलाइ, ‘कहिले पठाउँछस् पैसा, गएको ४ महिना भयो, २ लाख पठाइस् । साहुहरूले घेर्न थाले घर ।’ कमाएको आधा रकम त पर्सनल खर्चैै धान्न धौधौ । कोठामा सरसामान थप्नका लागि कि घर पैसा नपठाउनुप¥यो कि आधापेट बस्नुप¥यो । फलफूल त सु“घ्ने र हेर्ने मात्र । खाए त्यही चिकेन, बिफ, पोर्क– नखाए दाल–भात । यस्तै समस्याका चाङको भारीले थिच्दै गर्दा, झन् झन् कोठाभाडा तिर्ने दिन नजिकिँदै गर्दा, घरपरिवार र पढाइ सम्झिँदा बरु नेपालै ठीक भन्ने पनि नलागेको होइन ! फेरि नेपाल सम्झ्यो खै रोजगार र अवसर ? अनि फेरि मन थमथमायो, एकदिनको सपना देख्यो ।
अब्रोड स्टडी अर्थात् वैदेशिक अध्ययनमा जानेहरूको कथाव्यथा यस्तै–यस्तै होलान् । कसैको व्यथा कसैसँग मेल खालान् कसैको नखालान्, भन्नु केही छैन । चौथो महिनाको अवधिमा हामी बस्ने ओसाकानजिकैको होस्टलबाट एक युवतीलाई कलेजले फर्कायो । पढ्न गएको ६ महिना नबित्दै आँशुको बलिन्द्र धारा चुहाउँदै नेपाल फर्किइन् । कारण थियो– प्रेगनेन्सी । कोसँग सम्बन्ध राखिन् र गर्भ बोकिन् भन्ने विषयमा केही पत्तो लागेन तर उनलाई नेपाल फर्काइयो । र, अहिले पनि उक्त घटनाबारे केही सूचना तथा जानकारी बाहिर आएको छैन– आखिर उनले कसको पेट बोकिन् ?
अर्काे दिन राजधानी टोकियोमा नेपाली विद्यार्थीले कोठामै पासो लगाएर आत्महत्या गरेको खबर सुनियो । फेसबुक उघार्दा त्यही समाचार देखियो । पढाइ र पैसाको कारण आत्महत्या गरेको भन्ने खबर थियो । नेपालबाट आएको केही महिना नबित्दै मानसिक तनावका कारण विद्यार्थीले आत्महत्या गरेको भन्ने पनि थियो । सँगै बसेका साथीमध्ये कसैले भने– विदेश आएको महिना दिन नबित्दै पैसा खोज्नु त भएन नि ! कसैले भने– शुरुमा पैसा खोज्ने हो र, पढाइ तिखार्दै जाने अनि पैसा पनि जोहो गर्ने । मचाहिँ अलमलमा परेँ । किनकि मलाईचाहिँ पैसा, काम र पढाइ यी तीनैको आवश्यकता थियो ।
यस्तै–यस्तै घटना सुन्दै र मनन गर्दै गर्दा एक साँझ साथीहरूसँग पार्कतिर निस्क्यौँ, साइकल लिएर । गर्मी महिनामा पार्कमा निस्कँदा मनै हरर हुने । पार्कभर डुल्न आएकाहरू कोही विदेशी, कोही परदेशी त कोही पर्यटक । सबै आ–आफ्नै तालमा देखिन्थे । हामी पनि एक छेउमा गएर बस्यौँ, बिरानो भूमि र भविष्यबारे बात मार्न थाल्यौँ । त्यसक्रममा नजिकैको झाडी हल्लियो । वरपर झिलिमिली बत्ती । खासै डर लागेन किनिक जापान अहिंसाको देश हो भनेर घोकाइएको थियो । झाडीबाट अलि कर्कश स्वर आएपछि कसैलाई के भयो कि क्या हो भनेर चियाउन खोज्दा आँखा छोपेर भाग्यौँ हामी । त्यहाँ नेपालीमूलका जापानी विद्यार्थी बेरिएर चरम आनन्द लिइरहेका रहेछन् । यो घटनाले हामी सबैलाई अचम्मित तुल्यायो, दुःखी बनायो ।
धेरै साथीले फरक–फरक लख काटे । ‘अस्तिको प्रेगनेन्ट काण्ड यस्तै थियो कि !, ’ कसैले यसो भने । कसैले भने– होइन होला प्रस्टिच्युट हाउस गएको होला । जे नै होस् भविष्य बनाउन आएको हो, यहाँ मोजमस्ती गर्न होइन भनेर होस्टल फर्कियौँ । होस्टल फर्किएपछि पनि त्यो घटना दोहोरियो । बुवाआमालाई ऋणमा डुबाएर यस्तै गर्नु थियो भने किन पढ्न आउनु ? बरु बिहे गरेर घरजम गरे भैहाल्थ्यो भन्ने नै सबै साथीहरूको मत आयो । मैले पनि हो भनेर अब यो गफ बन्द गर्न भनँे । र, त्यो रात त्यो घटनाले सबैको मथिंगलमा नराम्ररी भूकम्प ल्यायो ।
पार्कको काण्ड देखेको केही दिन बितेको थियो । हामी तीन जनामध्ये मेरोचाहिँ कलेजले कक्षा बिहान ९ बजेदेखि १२ बजेलाई सा¥यो । पछि बुझ्दा थाहा भयो– पढाइमा अब्बल विद्यार्थीको कक्षा दिउँसो र अलि कमजोरलाई बिहानको कक्षा राखिएको रहेछ । कक्षा सारिएकै दिन हाम्रो होस्टलमा धादिङबाट एक युवती आएकी रहिछन् । कक्षाबाट आएपछि चिनजान भयो, नाम यशोदा रहेछ । उनी पनि मसँगै कलेज जान्थिन् तर कक्षा फरक । आउँदा सँगै आउँथ्यौँ, सँगै खान्थ्यौँ ।
क्लासमेट भएको केही हप्ता बितेपछि कक्षामा हल्ला फैलियो, ‘रुम गर्ल’ भनेर । के भनेको होला ? छक्क परेँ । पछि साथीहरूसँग बुझ्दा थाहा भयो, उनी हामीसँगै आएको केटा साथीसँग नजिकिएर सम्बन्धमा गाँसिएकी रहिछन् । यशोदा र केटाको भेट कलेजमै भएर फेसबुकदेखि फोन नम्बर साटासाट भएको रहेछ ! भविष्य बनाउन जापान आएकी उनको कथा सुनेर हामी तीनै जनाले अब कि डर्मिटरीबाट निकाल्ने कि सार्न लगाउने भन्ने उपाय अपनायौँ । तर, सम्भव थिएन– किनकि उनले होस्टल फि ६ महिनाको बुझाएर आएकी थिइन् । अब के गर्ने त ? भन्ने प्रश्नमा अलमलिँदै गर्दा साथी मीनाले भनिन्, ‘यी त ठमेलमा हामीले पैसा साटेको मनी एक्सचेन्जवाला दाइको गर्लफ्रेन्ड पो रहिछन् !’ म र बिना एकअर्कालाई हेराहेर गरेर तर्सियौँ ।
भोलिपल्ट मीनाले त्यो दाइलाई म्यासेन्जरमा फोन गरेर सबैथोक सुनाई । त्यसपछि थाहा भयो पर्दापछाडिका घटनाक्रम । नेपालमा छँदा यशोदा र ती दाइ सँगै बस्ने गर्थे । यशोदालाई जापान खर्चको जोहो पनि सबै उनैले गरेका रहेछन् । जापानबाट फर्केपछि बिहे गर्ने अनि सुखी जीवन बिताउने वाचा रहेछ । तर, जापान आएको केही हप्ता नबित्दै यशोदाले नयाँ रूप धारण गरिन् । यशोदाको नयाँ रूप देखिएपछि ती दाइले पैसा फिर्ता गर्न भनेछन् तर यशोदाले फेसबुक, म्यासेन्जर सबैबाट ब्लक गरेकी छन् । अहिले उनी हामीसँग बोल्दिनन्, हामी पनि बोल्दैनौँ । किनकि जापानमा हामी न्याय र अन्याय छुट्ट्याउन, दिलाउन बसेका छैनौँ, भविष्य बनाउन नै आएका हौँ ? यो सबैको बाध्यता हो । देखेर पनि नदेखेझैँ गर्नुपर्ने बाध्यता छ हजुर !
– ओसाकाबाट आकांक्षा
टिप्पणीहरू