छोरीलाई चुनाव लडाउने डा.बाबुरामको सोच
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा छोरी मानुषीको निम्ति काठमाडौं ७ रोजेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग गत बुधवार गरेको भेटवार्तामा उक्त कुरो उप्काएका हुन् ।
नारायणकाजीको निवास हरिसिध्दीमा भएको भेटवार्तामा बाबुरामले अरु सबै मुध्दा सेटल भए पनि चार सिटको लागि आफ्नो अडान राखेको स्रोतको दावी छ । गत बुधवार बिहान नारायणकाजी निवास र साँझ प्रचण्डकोमा छुट्टाछुट्टै भएको छलफलमा डा. भट्टराईले एउटै कुरा दोहोर्याएको बताइन्छ ।
‘उहाँले दुवै भेटमा आफूलाई गोरखा छाडिदिनुपर्ने आशयले कुरा गनुभयो,’ आशय उल्लेख गर्दै खुमलटार स्रोतले भन्यो, ‘मैले पहिले चुनाव लड्दिनँ भनेको थिएँ तर अहिले साथीभाइले गोरखा छाड्न हुँदैन है भनेका छन् ।’
माओवादी नेता नारायणकाजीले भने आगामी मंसिरमा राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर गोरखाबाट संसदीय चुनाव लड्ने मनस्थिति बनाएको बताइन्छ । बैठकमा भट्टराईले, ‘ल ठीक छ,यो विषयलाई अहिले खुला राखौं न भनेपछि’ श्रेष्ठले त्यो कुरोको ‘च्याप्टर क्लोज्ड’ भइसकेको जनाउ दिएको स्रोतको दाबी छ ।
माओवादी नेताहरुले तीन जनालाई टिकट चाहिएको सन्देश दिन उनले प्रायः प्रचण्डसँग भेटघाट गर्दै आएको रुपमा बुझेका छन् । छोरी मानुषी, महिन्द्र यादव (सर्लाही) र नवलपरासीका गोविन्द चौधरीलाई उनले कुनै हालतमा टिकट दिनुपर्ने अडान लिएका हुन् । तर आफूलाई प्रत्यक्ष रुपमा गोरखा नमागे पनि त्यसको सन्देश पनि दिएका छन् ।
छोरी मानुषीलाई काठमाडौं ७ बाट उठाउने योजना छ । त्यहाँबाट जसपाका सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । काँग्रेसले पनि उक्त क्षेत्रमा चर्को दाबी गरेको छ । एमाले सांसद रामवीर मानन्धर अहिले सो क्षेत्रका जनप्रतिनिधि हुन् ।
‘यसबीचमा एमालेले कार्यकर्ता भित्र्याएको र राष्ट्रियताको कुरो अघि बढाउने भएकाले एमालेले छिर्के दाउ हान्न सक्छ । उसले सत्ता गठबन्धनभित्र रहेको अन्तरविरोधको प्रयोग गर्छ,’ सत्तारुढ गठबन्धनभित्रको विश्लेषण सुनाउँदै माओवादीका एक जना नेताले भने ।
यसबीच राप्रपासँग मिलेर जान कार्यदलको निम्ति एमालेले उपमहासचिव विष्णु रिमाललाई जिम्मा दिएको छ । उनले राजेन्द्र लिङ्देन र बुध्दिमान तामाङसँग लेनदेनको वार्ता गरिरहेका छन् । राप्रपाले २० सिटको दाबी गरे पनि एमाले १० सिट दिने मनस्थितिमा रहेको भनिएको छ । उता, कमल थापाको राप्रपा नेपाल र हृदयेश त्रिपाठीहरुसँग पनि चुनावी गठबन्धन गर्ने भनिएको छ ।
‘अध्यक्ष ओलीले झापामा जित्नुपर्ने भएकाले एमालेले राप्रपासँग गठबन्धन गर्नैपर्ने हुन्छ ।,’ राजेन्द्र लिङ्देननिकट राप्रपाका एक जना नेताले भने । ती नेताका अनुसार एमालेले लोसपालाई पनि लोप्पा खुवाउने छ । किनभने लोसपाले एमालेसँग मिलेर कहिँ पनि जित्ने अवस्था छैन । त्यसैले प्रधानमन्त्रीसँग महन्थहरुले पटक पटक अनुरोध गरेर सरकारमा जाँदा दुई वटा मन्त्री,नभए पनि सत्ता गठबन्धनमा ल्याइदिन आग्रह गरेको उनको बुझाइ छ ।
तर, लोसपालाई सरकार र गठबन्धनमा सामेल गर्दा उपेन्द्र यादव बिच्किने सम्भावना उत्तिकै छ । लोसपालाई गठबन्धनमा सामेल गर्न नसकिने ठहर काँग्रेसबाहेक अन्य दलको बुझाइ छ । विगतमा ओली सरकारमा सामेल भएकाले लोसपालाई ‘प्रतिगमनकारी’ को आरोप लाग्दै आएको छ । प्रतिगमनकारी लोसपालाई सामेल गर्न मिल्ने भए एमालेसँग कार्यगत एकता गर्न किन नहुने भन्ने माओवादीको समेत अनौपचारिक भनाइ आउन थालेपछि काँग्रेस अप्ठेरोमा परेको हो ।
टिप्पणीहरू