एनआरएन मिलाउन बैंककमा भेला तर हल रित्तै
लाखौं रकम खर्चेर थाइल्याण्डको बैंककमा आयाेजित एनआरएनएकाे ‘मिलाप’ सम्मेलनले धक्का खाएको छ ।
गैरआवासीय नेपाली संघको नवाैँ एसिया- प्यासिफिक क्षेत्रीय सम्मेलनमार्फत आयाेजित ‘मिलाप’ सम्मेलननिम्ति बैंकक पुगेका कैयाैं प्रतिनिधि बरालिएका छन् ।
त्यसाे त एनआरएनए फुटाउन कस्सिएका संघका संस्थापक शेष घलेसहित उक्त समूहले ‘मिलाप’ सम्मेलन बहिष्कार गरेको छ।
सम्मेलनकाे पहिलो दिन थाइ-नेपालीहरूले सञ्चालन गरेको हिन्दू मन्दिर घुमेरै बितेको छ । दाेस्राे दिनकाे अन्तर्कृया कार्यक्रममा एनआरएनएका ४० जना प्रतिनिधि पनि हलभित्र छैनन् जबकि त्यहाँ सहभागी हुन ३ सय जनाको नाम टिपाइएको छ ।
एनआरएनएका तीन जना अध्यक्ष कुल आचार्य, रविना थापा र डा.बद्रि केसी,एमाले सांसद डा. सूर्य पाठक,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बाेलिरहँदा हलमा ताली पिट्ने प्रतिनिधि पनि पुगेका छैनन् ।
श्रीमतीसहित बैंकक पुगेका कतिपय प्रतिनिधि बजारतिर निस्किएका छन् । कतिपयले हल बाहिर गफ दिइरहेका छन् ।
सम्मेलनमा थाइल्याण्ड र म्यान्मारका नेपालीभाषीहरूकाे समस्या,प्रवासी मजदुरका समस्या, संघभित्रकाे मिलाप र स्वदेशमा लगानी भित्र्याउने विषयमा छलफल भइरहेको छ। तर महत्त्वपूर्ण भेलामा थाेरै संख्यामा प्रतिनिधि सहभागी छन् ।
दाेस्राे दिनकाे दाेस्राे ‘मिलाप’ सेसनकाे सहजिकरण कान्तिपुर टेलिभिजनका पत्रकार दिलभुषण पाठकले गरेका छन् ।
टिप्पणीहरू