मेलम्चीमा फेरी बाढी, मेलम्ची–हेलम्बु सडक खण्ड अवरुद्ध

मेलम्चीमा फेरी बाढी, मेलम्ची–हेलम्बु सडक खण्ड अवरुद्ध

गए रातिदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडक खण्ड अवरुद्ध भएको छ । वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्याएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन ।

बाढीले मेलम्ची, हेलम्बु, पाँच पोखरी राम्चे, भोताङ र गुन्सालगायत सडक बगाएपछि अवरुद्ध भएको छ । अहिले हेलम्बुका खेतका फाँट र सडक क्षेत्रबाट नदी बगिरहेको बताइएको छ । पछिल्लो बाढीका कारण नदीले धार परिवर्तन गरेको छ । मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका सबै प्रयास असफल भएको बताइएको छ ।

पाँच पोखरी गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्पूर्ण सडक अवरुद्ध भएको र वर्षा नरोकिएका कारण बाढीको खतरा बढ्ने जानकारी दिएका छन् । निरन्तर वर्षाको कारण पहिरो, खहरे खोला, नदी तटीय तथा भिरालो स्थानमा नबस्न सो क्षेत्रका जनतालाई सुसूचित गराइएको छ ।लामाका अनुसार सयौँ सवारी साधन अलपत्र छन् । नजिकिँदै गएको तीजको लागि माइत हिँडेका महिला यात्रुले भरिभराउ गाडीहरू बीच बाटोमै रोकिएका छन् ।

सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षाको मापन गरिएको बताइएको छ । गए राति देखिको वर्षाका कारण सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

गत वर्षको बाढीका कारण हेलम्बु, मेलम्ची बजार क्षेत्रलगायत थाङ्पाल गाउँपालिकाकाको नदी तटीय क्षेत्रमा करोडौँको क्षति पुगेको थियो । स्थानीय सर्वसाधारण गत वर्षको जस्तै विनाशकारी बाढी दोहोरिने त्रासमा देखिन्छन् ।

टिप्पणीहरू