राष्ट्रिय सभाका सदस्यहरुले आगामी बिहीबार हात उठाउने
राष्ट्रिय सभाको बैठकमा आज पेश भएको नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै १५ बुँदे सन्देशसहित फिर्ता गर्नुभएको विधेयक प्रतिनिधि सभाले मतदानको प्रक्रियाबाट पारित गरेको थियो ।
गृहमन्त्री बालकृष्ण खाँणले आज राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक–२०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो ।
अब उक्त विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल र पारितपछि मात्रै राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गरिने भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ ।
टिप्पणीहरू