तीजमा पशुपति पुग्ने महिलाको जुत्ता चप्पल जिम्मा लिन को-को तम्सिए ?
पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजलाई लक्षित गरेर सम्पूर्ण तयारी पूरा गरेको छ । उसले जुत्ता चप्पल राख्ने ठाउँदेखि अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
भक्तजनको सहजतालाई मध्यनजर गर्दै कोषले जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारीसमेत तोकिदिएको छ । कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगास्थित पर्यटक टिकट काउण्टर क्षेत्रबाट राममन्दिर–आर्यघाट हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
सो स्थानबाट प्रवेश गर्ने भक्तजनले आफ्नो जुत्ता चप्पल बाग्मती नदी माथि दुई पुलपारिका मध्य क्षेत्रमा राख्नुपर्नेछ । सो क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राख्ने जिम्मा जयवागेश्वरी टोल सुधार समितिलाई दिइएको छ ।
त्यस्तै,मित्रपार्क क्षेत्रबाट प्रवेश गर्ने भक्तजनलाई जुत्ता चप्पल शंकराचार्य मठ अघिको क्षेत्रमा राख्न कोषले सुसूचित गरेको छ । पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मा लिएको छ ।
तेस्रो लाइन गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्नेछ । बज्रघर अघिको भागमा राखिएका जुत्ता चप्पलको निगरानी अमर नवकान्तेश्वर युवा क्लबले गर्ने भनिएको छ ।
गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ पुग्ने अर्को द्वारको जुत्ता चप्पलको जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ । गुरु मन्दिरअघिको खुला भागमा भक्तजनले आफ्नो जुत्ता चप्पल खोल्नुपर्नेछ ।
त्यस्तै, सो दिन दर्शनार्थीले मूल मन्दिर र परिसरको तस्बिर खिचेमा नगद जरिवाना गर्ने कोषले चेतावनी दिएको छ । कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीकाअनुसार तस्बिर खिच्न, टिकटक बनाउन र सामाजिक सञ्जालमा पोस्ट गर्न मनाही गरिएको हो ।
गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय,मुख्य मन्दिरको एक हजार एक सय र मूल मन्दिर परिसरको पाँच सय जरिवाना गरिनेछ । कर्मचारी समूहले यसको सुक्ष्म अनुगमन गर्नेछ । त्यस्तै, सो दिन बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको छ ।
टिप्पणीहरू