राजनीतिमा भित्रभित्रै यसरी चल्दैछ दाउपेच

राजनीतिमा भित्रभित्रै यसरी चल्दैछ दाउपेच

मंसिर ४ को निर्वाचन आउन करिब ३ महिना बाँकी छ । चुनाव नजिकिएसँगै तयारीमा होमिएका दलहरू आन्तरिक रणनीति बनाउनदेखि आफ्नो पक्षमा जनमत देखाउन पार्टी प्रवेश कार्यक्रमहरुमा व्यस्त छन् । सत्ता गठबन्धनका दलहरू सिट भागबण्डा मिलाउन बालुवाटार र सिंहदरबारतिर व्यस्त रहँदा प्रमुख प्रतिपक्ष एमालेले पनि कार्यदल नै बनाएर राप्रपासँग चुनावी तालमेलको प्रयास थालेको छ ।

तर, गठबन्धन गरेर चुनावमा जानुपर्ने बाध्यतासँगै टिकटका आकांक्षीहरू धेरै हुँदा सबै पार्टीमा असन्तुष्टि र विवाद व्यापक छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट भागबण्डा निकै पेचिलो विषय बनिरहेको छ । दलहरूका आ–आफ्ना दाबी र अडानका कारण सकस परेपछि कार्यदलले शीर्ष नेताहरूलाई नै सहमति खोज्ने जिम्मा लगाएको छ । प्रत्यक्ष निर्वाचित हुने १६५ मध्ये कांग्रेस एक्लैले ९० सिटमा दाबी नछोडेपछि अप्ठेरोमा परेका गठबन्धनका अन्य चार दलबीच छुट्टै मोर्चा बन्ने चर्चा अहिले पनि चलिरहेको छ । तथापि त्यस्तो मोर्चा गठबन्धनकै अंग हुने दाबी गरिएको छ ।

खासगरी सिट भागबण्डामा कांग्रेसको एकलौटी रोक्न गठबन्धनभित्रका वामपन्थीबीच ध्रुवीकरणको प्रक्रिया शुरु भैसकेको छ । तर, कांग्रेसलाई अधिकतम ८० सिट छोडेर बाँकी ८५ मा चार दलको भाग मिलाउने प्रयासमा रहेका उनीहरूकै बीचमा पनि भागबण्डा मिलाउन सहज भने देखिँदैन । ९० दाबी गरिरहेको कांग्रेसले ८० मा सहमत हुने संकेत दिँदा गठबन्धनका अन्य घटक अधिकतम ७५ भनिरहेका छन् । माओवादीले न्युनतम ५५ दाबी गरिरहेको छ भने एकीकृत समाजवादीले पहिले जितेको १३ मा कम्तीमा १० थप्नुपर्ने अडान राखेको बताइन्छ । त्यसबाहेक प्रचण्ड र माधवलाई कांग्रेसइतर पक्षमै जोडिएका बाबुराम भट्टराई र वामदेव गौतमको चित्त बुझाउनुपर्ने अर्को बाध्यता पनि छ ।

माओवादी केन्द्रको चिह्न लिएर साझा घोषणापत्रमा चुनाव लड्ने सहमति गर्नुभएका डा. भट्टराईले न्युनतम ३ र गौतमले १ सिट दाबी गर्नुभएको बताइन्छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गर्नुभएका बाबुरामले गोरखा–२ पनि दाबी गरेको चर्चा छ । तर, राष्ट्रियसभाबाट राजीनामा दिएर उम्मेदवारी दिने तयारीमा रहनुभएका श्रेष्ठको पनि त्यही क्षेत्रमा बलियो दाबी छ । सोमबारको भेटमा श्रेष्ठले भट्टराईलाई आफू पछि नहट्ने जवाफ दिएको उहाँनिकट स्रोतले बताएको छ ।

माओवादी केन्द्रका नेताहरूका अनुसार एउटै चिह्न र घोषणापत्रमा लड्ने सहमति हुँदा गोर्खा–२ मा बाबुरामको दाबी थिएन । बरु उहाँले छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ–७ सहित महेन्द्र यादवको पुरानै क्षेत्र सर्लाही र गोविन्द चौधरीलाई नवलपुरमा टिकट दिनुपर्ने प्रष्ट शर्त राख्नुभएको छ । महेन्द्रको हकमा समस्या नभए पनि गठबन्धनका कारण ती क्षेत्र माओवादीको भागमा नपर्दा मानुषी र गोविन्दले टिकट पाउने सम्भावना ज्यादै न्यून रहेको बताइन्छ ।

अघिल्लो चुनावमा एमालेका रामवीर मानन्धरले जितेको काठमाडौँ–७ मा कांग्रेस, एकीकृत समाजवादी र जसपाको बराबर दाबी छ । नवलपुरमा पनि माओवादीको भन्दा सांगठानिक अवस्था र जनाधार राम्रो भएकाले कांग्रेसको दाबी प्रभावी रहन्छ नै ! यता, एक्लै चुनाव लड्ने घोषणा गरेको एमाले पनि राप्रपासँग गठबन्धन गरेर जाने भित्री तयारीमा जुटिसकेको छ । त्यसका लागि कार्यदल नै गठन गरिएको र केपी ओलीले राजेन्द्र लिङदेन र बुद्धिमान तामाङसँग छलफल अघि बढाउन उपमहासचिव विष्णु रिमाललाई जिम्मा लगाउनुभएको छ ।

राप्रपानिकट स्रोतले पनि एमालेसँग गठबन्धन हुने र आफूहरूले २० सिट बटमलाइन बनाएर दाबी पेश गर्ने तयारी गरेको बताएको छ । झापामा दुवैतिरका अध्यक्षको क्षेत्र सुरक्षित गराएर राप्रपालाई १० देखि १५ सिट दिन ओली पनि सहमत हुने एमाले नेताहरूले बताएका छन् । साथै, कमल थापा, हृदयेश त्रिपाठीहरूसँग पनि तालमेल गर्ने ओलीको आन्तरिक तयारी छ ।

एमालेको चाहनाका बाबजुद महन्थ ठाकुरहरूसँग भने सहकार्यको सम्भावना कमजोर बन्दै गएको बताइन्छ । एमालेसँग मिलेर पनि मधेसमा चुनाव जित्ने हिसाब ननिस्केपछि पाँचदलीय गठबन्धनमा सहभागी हुन लोसपाका नेताहरू प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग तारन्तार छलफलमा छन् । तथापि दुई कारणले लोसपालाई गठबन्धनमा सहभागी गराउन अप्ठेरो परेको नेताहरू बताउँछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको अहिलेको सत्ता गठबन्धनले केपी ओलीको उक्त कदमलाई प्रतिगमन भनेको थियो । अहिले पनि उनीहरूले प्रतिगमनको सम्भावना अझै बाँकी रहेकाले गठबन्धन बलियो बनाएर जानुपर्ने तर्क गर्ने गरेका छन् । तर, त्यतिबेला महन्थहरू भने प्रतिनिधिसभा विघटनको समर्थन गर्दै ओली सरकारमा सहभागी भएका थिए । त्यसैले राजनीतिक बुझाइमै फरक परेकाले उनीहरूसँग सहकार्य गर्न नसकिने भन्दै गठबन्धनमा कांग्रेसबाहेकका दलहरू एकतिर छन् ।

‘यदि, लोसपासँग सहकार्य स्वाभाविक हुने भए एमालेसँग किन नहुने ?’ माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूले कांग्रेसतिर प्रश्न तेस्र्याउने गरेका छन् । अर्कोतिर अहिले नै सिट भागबण्डा मिलाउन सकस परिरहेका बेला अर्को दललाई थप्नु किन र केका लागि भन्ने प्रश्न पनि उठिरहेको छ । राप्रपासँग सहकार्य थालेको एमालेको एउटा पंक्ति भने अहिले पनि एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयासमै छ भनिन्छ ।

एक्लै चुनाव जित्ने, प्रचण्ड र माधव नेपाल बिनाको वाम एकता गर्नेजस्ता आक्रमक अभिव्यक्ति दिँदै आउनुभएका महासचिव शंकर पोखरेल आफैं नेताहरूलाई मनाउन घर–घर पुगिरहेको एकीकृत समाजवादीका एक नेताले खुलासा गरे । उनका अनुसार यसै साता पोखरेलले वाम गठबन्धनको वकालत गर्दै आउनुभएका सम्मानित नेता झलनाथ खनाललाई उहाँको निवास डल्लुमा पुगेर भेट्नुभएको हो । त्यसबाहेक सचिवालयका अन्य नेताहरूलाई पनि शंकरसहितका एमाले नेताहरूले बारम्बार भेटेर पार्टी एकताको प्रस्ताव गरिरहेको उनले दाबी गरे ।

टिप्पणीहरू