टिकेट दिनलाई नाम प्रवास,नेपालमै बस्ने नेतालाई गाँस
एमाले अध्यक्ष केपी ओलीले पार्टीमा विधि,पद्धति,प्रक्रिया मिचेर गरेको एकलौटी निर्णयका विरुद्ध विद्रोह गरेको नेकपा एकीकृत समाजवादी पनि ओलीपथमै हिंड्न थालेको आरोप लाग्न थालेको छ । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रवासबाट समानुपातिक उम्मेदवार मागेको समाजवादीले घुमाई फिराई ठूला नेतालाई सिफारिस गरेपछि कार्यकर्ताले यस्तो आरोप लगाएका हुन् ।
समाजवादीको हालै सम्पन्न ९औं सचिवालय बैठकले उम्मेदवारको मापदण्ड तय गर्दै छनोट प्रकृया र संख्या निर्धारण गरेको थियो । मातहत कमिटीलाई विशेष सर्कुलर पठाएर सोसम्बन्धी जानकारी गराइएको थियो । विशेष प्रदेश कमिटीको मान्यता दिएको प्रवास कमिटीलाई पनि उम्मेदवार सिफारिस गरी पठाउनु भनिएको थियो ।
तर,सर्कुलरको बुॅदा २(घ)मा विशेष प्रदेश कमिटीले संघको समानुपातिकतर्फ महिला र पुरुष एक-एक जनाको नाम सिफारिस गर्नुपर्ने नियम बाहिर गएर स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहले आफ्नै नाम सिफारिस गराएको भन्दै प्रवासका कार्यकर्ता असन्तुष्ट भएका छन् । आफ्नो नाम भूगोलबाट सिफारिस हुने सम्भावना नरहेको भन्दै साहले दुईमध्ये एकजना आफू हुनैपर्ने अडान राखेर पदाधिकारी बैठकबाट जबर्जस्ती पास गराएको एक कार्यकर्ताले दावी गरे ।
लामो संघर्षबाट प्राप्त प्रवासी नेपालीको एउटा अवसर पनि घुमाई फिराई नेतालाई नै दिनुपर्ने भएपछि सचिवालयको बैठकमा चर्को विवाद भएको बताइन्छ । इन्चार्ज साहको नाम सिफारिस भएमात्र समानुपातिक बन्दसूचीमा पर्नसक्ने, अरुको हुँदा नपर्ने पदाधिकारीमार्फत उनले बैठकमा कुरा उठाउन लगाएको ती कार्यकर्ताको आरोप छ । त्यसपछि अन्यको नाम हटाइएको उनले दावी गरे ।
तर,नेताको नाम सिफारिस भएको कुरा बाहिर आए पार्टी तथा प्रवासमा विरोध हुने भएकोले समाचार तथा सामाजिक सञ्जालमा नाम सार्वजनिक नगर्ने शर्त राखिएको समेत बताइन्छ ।
टिप्पणीहरू