महाभियोग सिफारिस समितिमा चोलेन्द्रविरुद्ध सर्वोच्च बारको २३ बुँदे उजुरी
महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध महाभियोग सिफारिस समितिमा अर्को उजुरी परेको छ । सर्वोच्च बार एशोसिएसनले महाभियोग प्रस्ताव पुष्टि हुने प्रमाण दावी गर्दै समितिलाई न्यायिक नेतृत्व र प्रधानन्यायाधीशका रुपमा चोलेन्द्रले गरेका कामकारवाहीको फेहरिस्त पठाएको हो ।
सर्वोच्च बारको हिजो बसेको कार्यसमिति बैठकले चोलेन्द्रले संवैधानिक व्यवस्थाको गम्भीर उल्लङ्घन गरेको दावी गर्दै २३ वटा बुँदामा उजुरी पठाएको हो । जसमा श्रीमती हत्याका अभियुक्त नेपाल प्रहरीका तत्कालीन डिआइजी रन्जन कोइरालालाई सफाई दिएको,नेपाल ट्रष्टको सम्पत्ति व्यक्तिका नाममा फर्काउने फैसला गरेको,सम्पत्ति शुध्दिकरण कसूर गरेकोलगायत उल्लेख छ ।
अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरेले हस्ताक्षर गरी सिफारिस समितिमा पठाईएको उजुरीमा महाभियोग पुष्टि हुने यथेष्ट प्रमाण भन्दै प्रस्ताव पारित गरी पदमुक्त गरिदिन पनि आग्रह गरिएको छ ।
भदौ ८ गते बसेको समितिको बैठकले महाभियोग दर्ता हुँदा लागेको आरोपसँग सम्बन्धित विषय पुष्टि हुने कागजात ३ दिनभित्र उपलब्ध गराउन भन्दै उजुरी आह्वान गरेको थियो । राणाविरुद्ध भएका प्रमाण,कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन समितिले गोरखापत्रमा सूचना निकालेको हो । त्यसपछि विभिन्न व्यक्तिहरुले समेत उजुरी दिएका छन् ।



टिप्पणीहरू