मुलुकको पहिलो प्राविधिक विश्वविद्यालयको नयाँ रणनीति
– आषिका लम्साल
प्रदेश नम्बर १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफ्नो रणनीति सफल बनाउने कार्यमा अग्रसर हुन थालेको छ ।
१६ असोज २०७६ मा ऐन निर्माण गरेर मोरङको बुढीगंगा गाउँपालिका ४, हात्तीमुढामा प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) गुणस्तरीय र सस्तो उच्च शिक्षाका लागि आफनो रणनीति सफल बनाउन अग्रसर हुनथालेको हो ।
तीन वर्ष पहिले मात्र स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय एमटियुले दस वर्षभित्र स्नातक, स्नातकोत्तर र विद्यावारिधी (पिएचडी) गरी २८ वटा विभिन्न विषय सञ्चालन गर्ने रणनीति बनाएको छ । जस अन्तर्गत हाल एमटियुमा स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संंकाय स्थापना भइसकेका छन् ।
यो विश्वविद्यालयले तीन वटा स्कुलअन्तर्गत १० वर्षमा सबै कार्यक्रम सञ्चालन गराएर हरेक वर्ष कूल २८ सय ३१ जना विद्यार्थी दिक्षित बनाउन लक्ष्य राखेको रजिष्ट्रार डा. दिलनाथ फुयाँलले जानकारी गराए । उनका अनुसार मुलुकमा व्यवहारिक विकासका लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न बहुप्राविधिक विश्वविद्यालयको अवधारणाअनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक तथा अन्तर्राष्ट्रिय विकास क्रमसँग आबद्ध हुन सक्ने मानव संशाधन विकास गर्न योजना एमटियुको रहेको छ । यसबाट विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दर्भिक अनुसन्धानलाई व्यापक एवम् व्यवहारिक र समय सापेक्ष बनाउने एमटियुको लक्ष्य भएको बताइन्छ ।
रणनीति सफल बनाउन शैक्षिक पूर्वाधारमा लगानी बढाउँदै एमटियु
एमटीयूले गत आ.व.२०७८-७९ देखि स्कुल अफ इन्जिनियरिङ्गअन्तर्गत स्नातक तहको सिभिल इन्जिनियरिङ्ग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गको पठनपाठन थालिसकेको छ । गुणस्तरलाई ध्यानमा राख्दै दुबै विषयमा २४ सीट कामय गरेर विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गरेको डिन डा. प्रचण्डमान प्रधानले बताए । तुलनात्मक रुपमा सस्तो रहेको चार वर्षे इञ्जिनियरिङ कोर्ष अध्ययनका लागि पहिलो वर्ष नै एमटियुमा सयौं विद्यार्थीको लर्को लागेको थियो । तर सीमित सिटका कारण पहिलो ब्याचमा आवेदन दिएका पाँच सय विद्यार्थीमध्ये जम्मा ४८ जनालाई मात्र प्रवेश परिक्षामार्फत् भर्ना लिएको डिन प्रधानले बताए ।
देशका लागि आवश्यक दक्ष र व्यवहारिक ईञ्जिनियर उत्पादन गर्न एमटियुले कक्षा कोठा आधुनिक र वतावरणमैत्री बनाएको छ । सँगै सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानका लागि एमटियुले सिभिल र इलेक्ट्रिोनिक्स दुबैतर्फ करोडौं खर्चेर अत्याधुनिक ल्याब पनि स्थापना गराइसकेको कार्यक्रम संयोजक ईन्जिनियर नरेन्द्रकुमार डाँगीले जानकारी दिए । यसका साथै एमटियुले विद्यार्थीहरुका लागि अत्याधुनिक लाइब्रेरी पनि स्थापना गराइसकेको छ ।
ईन्जिनियरिङ संकायको ईलेक्ट्रिोनिक्स एण्ड इलेक्ट्रिकल विभाग प्रमुख डा. दिपरत्न डंगोलका अनुसार गुणस्तरीय व्यवहारिक पढाईलाई ख्याल गर्दै हाल एमटियुमा ईलेक्ट्रिकतर्फ मेसिनल्याब, बेसिक इलेक्ट्रिक ल्याब, कन्ट्रोल ल्याब र इलेक्ट्रिोनिक्स ल्याब सञ्चालनमा आइसकेको छ ।
कार्यक्रम संयोजक तथा ईन्जिनियर नरेन्द्र डाँगीका अनुसार सिभिलतर्फ पनि फ्रुट मेकानिक्स, हाईड्रोपावर, हाइवे, मेटेरियल, स्वायललगायत एक दर्जनबढी ल्याब स्थापना भइसकेको छ । एमटियुमा व्यवस्थित कमप्युटर ल्याब स्थापना गरिएको छ । जसले गर्दा विद्यार्थीहरुलाई पहिलो वर्षदेखि नै अनुसन्धानमूलक व्यवहारिक पठनपाठनमा सहज भइरहेको छ ।
सैद्धान्तिक अध्यापनबाट मात्र दक्ष ईन्जिनियरहरु उत्पादन हुन नसक्ने भएकाले एमटियुले प्रथम वर्षदेखि नै आवश्यक सबै ल्याब स्थापना गरेर सञ्चालनमा ल्याएको डिन डा. प्रचण्डमानले बताए । भने, ‘हामीले दक्ष ईन्जिनियर उत्पादन गराउन ४० प्रतिशत थ्यौरी र ६० प्रतिशत प्राक्टिकल पढाउने गर्दछौ । यसैले समयमै आधुनिक ल्याब स्थापना गरेका गराएका हौं ।’
गुणस्तरिय ईन्जिनियर उत्पादनका लागि ल्याब निर्माणमा मात्र १० करोड भन्दाबढी रकम खर्चिसकेको र थप खर्च गर्दै जाने एमटियुका रजिष्ट्रार डा दिलनाथ फुयाँलले बताए । उनका अनुसार दक्ष प्राध्यापक र नयाँ पाठयक्रम भएर मात्र सफल ईन्जिनियर उत्पादन नहुने भएकाले अभ्यासबाटै विद्यार्थीलाई दक्ष बनाउने लक्ष्य एमटियुको छ । रजिष्टार फुँयालले भने, ‘एमटियुमा चार वर्ष पढिसकेपछि उत्पादन भएका सबै ईन्जिनियरहरुले पुनः तालिम लिन नपरोस् र तुरुन्तै रोजगार पाउन भन्ने हाम्रो उद्देश्य हो यसैले शैक्षिक लगानीमा कुनै सम्झौता हुँदैन ।’
ग्रामीण क्षेत्रको शान्त वातावरणमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले पहिलो व्याचदेखि नै विद्यार्थीलाई आउने जाने यातायात र छात्राहरुका लागि होस्टलको प्रबन्ध पनि मिलाएको छ । सँगसँगै आफैं कमाएर पढ्न चाहने विद्यार्थीलाई ‘अर्न टु लर्न’ कार्यक्रम पनि सञ्चालनमा ल्याउन लागेको जनाएको छ । जसबाट विद्यार्थीहरुले एमटियुकै ल्याबमा काम गर्न सक्नेछन् । एमटियुको सिभिल ल्याबमा भौतिक निर्माणमा प्रयोग गरिने फलामे छड, सिमेन्ट, ढुंगागिट्टीलगायत विभिन्न सामग्री सशुुल्क परिक्षण पनि गर्ने गरिएको छ ।
एमटियुले आफनै अनुसन्धान केन्द्र पनि स्थापना गरिसकेकाले रिसर्च गर्न चाहने विद्यार्थीहरुका लागि निःशुल्क अवसर पनि उपलब्ध हुनेछ ।

ईन्जिनियरिङतर्फ चाँडै भर्ना खोलिँदै
देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा स्कुल अफ ईन्जिनियरिङतर्फ दोस्रो ब्याचको भर्ना चाँडै खोलिन लागेको छ । डिन प्रचण्डमान प्रधानकाअनुसार पहिलो वर्षमा ईन्जिनियरिङतर्फ २४ जनाको कोटा कायम गरेर विद्यार्थी भर्ना लिए पनि आगामी वर्ष दोब्बर बढाएर ४८ जना विद्यार्थीले भर्ना हुन पाउने छन् । तर त्यसका लागि आवेदन दिन विद्यार्थीहरुले प्रवेश परीक्षा भने उतीर्ण गर्नै पर्नेछ । उत्तीर्ण विद्यार्थीमध्ये उत्कृष्ट अंकको आधारमा विद्यार्थी छनौट हुनेछन् । एमटियुले चार वर्षे ईन्जिनियरिङ कोषको शुल्क साढे ५ लाख रुपैयाँ मात्र तोकेको छ ।
टिप्पणीहरू