भारतको उदाहरण दिँदै धरानका मेयर हर्कलाई ठाउँ छोड्न पूर्व पञ्चहरुको चेतावनी

भारतको उदाहरण दिँदै धरानका मेयर हर्कलाई ठाउँ छोड्न पूर्व पञ्चहरुको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विद्यार्थीहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको राजीनामा मागेका छन् । मेयर हर्कले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको आरोप लगाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस धरानका अध्यक्ष आभाष अधिकारीले राजीनामा दिन भनेका हुन् ।

मेयर हर्कले इञ्जिनियरको पेशाप्रति अपमानपूर्ण टिप्पणी गरेको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संगठनले भनेको छ,‘सामाजिक सञ्जालमा अत्याधिक दम्भ र आफूबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा जुन किसिमले इञ्जिनियरको क्षमता र यस पेशामा आबद्ध र अध्ययनमा ऊर्जाका साथ समर्पित सम्पूर्ण इञ्जिनियरिङ पेशाप्रति धरानका हालका नगरप्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन घोर विरोध प्रकट गर्दछ ।’

छिमेकी देश भारतमा इञ्जिनियरिङ पेशाबाट उदाएका अरविन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ ।

इञ्जिनियरमाथि प्रयोग गरिएको तुच्छ शब्दले मेयरको विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामाथि प्रश्न उठाएको संगठनले बताएको छ । त्यस्तै, धरानले पाएको गैरजिम्मेवार नेतृत्वले विकासको भविष्य अन्धकार र उनको साना सोचले पुराना भ्रष्टाचारी नेताहरुलाई पछ्याएको संगठनको आरोप छ ।

साथै,मेयर हर्कले तत्कालै राजीनामा नदिएमा कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

टिप्पणीहरू