घुसबापत २० लाख माग्ने डिप्लोम्याट घर फिर्ता
काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाले झैँ घुस खाने नियत राखेको, तर खाइनसकेको रिपोर्ट आएपछि अष्ट्रियाको राजधानी भियनास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी जिम्मेवारीबाट हटाइएर नेपाल फिर्ता बोलाइएका छन् ।
अबको डेढ हप्ता अर्थात् भदौ १९ गतेभित्र थप कारबाहीका निम्ति अष्ट्रिया छाड्न निर्देशन भैसकेकोले १८ गते काठमाडौं आइपुग्ने उनले म्यानपावरवालाले पैसा अफर गरी पटक पटक जिद्दी गरेको तर घुसै खाने आफ्नो मनशाय नरहेको, भन्दै भगवानको कसम खाएका छन् ।
शाखा अधिकृत धनञ्जय मेहताले क्रोएसिया, अल्बानिया र पोल्याण्डसँग नेपाल सरकारले गरेको श्रम सम्झौताबमोजिम ५ सय वटा कोटा प्रमाणीकरण निम्ति काठमाडौं बस्ने म्यानपावर व्यवसायी टंक राउतसँग मोबाइलबाट कुरा गर्दै आर्थिक लाभ मागेको अडियो श्रम मन्त्रालयमा पुगेको थियो ।
त्यसउपर छानबिन गर्न परराष्ट्र मन्त्रालयले सहसचिव सेवा लम्साल, उपसचिव पुष्करराज नेपाल (कानुन) र शाखा अधिकृत दधि भण्डारी (प्रशासन) को तीन समिति गठन गरेको थियो । समितिबाट नियत खराब भएको प्रतिवेदन पेश भए बमोजिम उनलाई फिर्ता बोलाइएको हो ।
यता नेपालको कूटनीतिक कदममाथि फेरि प्रश्न उठेको छ । सरकारले भारतको ७२औँ स्वतन्त्रता दिवसका दिन अगष्ट १५ मा शुभकामना दियो । तर, १४ तारिखमा पर्ने पाकिस्तानको स्वतन्त्रता दिवसको शुभकामना दिएन । यसअघि रुस–युक्रेन मामिलामा हतार हतार युक्रेनका पक्षमा विज्ञप्ति निकाल्दा कूटनीतिक सम्बन्धमा असन्तुलन देखिएको थियो ।
टिप्पणीहरू