श्रीमती कुटेपछि बेलायतका नेपाली काउन्सिलर प्रहरी खोरमा

श्रीमती कुटेपछि बेलायतका नेपाली काउन्सिलर प्रहरी खोरमा

नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतस्थित अल्डरसटका एक नेपाली काउन्सिलर श्रीमती कुटेवापत प्रहरी हिरासतमा पुगेका छन् । परस्त्रीसंग रमाइरहने बानी भएको भनिएका युवा व्यवसायी प्रवेश केसीमाथि मदिरा सेवनपछि मातेर दोश्रो श्रीमती कुटेको आरोप छ । कुटिएकी श्रीमतीले पुलिसमा फोन गरेलगत्तै उनी एक रात कस्टडीमा बस्न वाध्य भएका हुन् ।

घटना गत साताको हो । काउन्सिलर केसी जमानतमा निस्किएको र उनीमाथि श्रीमतीसंग सम्पर्क गर्न वा नजिक आउन प्रतिवन्ध लगाइएको श्रोतले जनआस्थालाई बताएको छ । बेलायतमा घरेलू हिंसाविरुद्धको कानून कडा मानिन्छ ।

एक जिम्मेवार स्थानीय जनप्रतिनिधिले मापसे गरेर श्रीमती कुटेको घटना यहाँ बिरलै सुनिन्छ । यसकारण पनि केसीले रेकर्ड ब्रेक गरेर गोर्खालीलाई प्राप्त इज्जत माटोमा मिलाएको नेपालीहरुको गुनासो छ । अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिकासंग केसीको हिमचिम रहेको र यही निहुँमा परिवारमा पटकपटक मनमुटाव आएको बताइन्छ ।

पहिलो श्रीमतीसंग सम्बन्ध विच्छेद हुनुको कारण पनि नानीदेखि लागेको बानी नै मुख्य रहेको समाचार श्रोतको भनाइ छ ।

केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोअन्तर्गत अल्डरसट टाउन,वेलिङटन वार्डको काउन्सिलर पदमा जितेका थिए । उनी कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति पनि हुन् ।

टिप्पणीहरू