भर्खरै सिभिल इन्जिनियर पास गरेका सुनुवारको शङ्कास्पद मृत्यु,प्रहरीमाथि गम्भीर आरोप

भर्खरै सिभिल इन्जिनियर पास गरेका सुनुवारको शङ्कास्पद मृत्यु,प्रहरीमाथि गम्भीर आरोप

चम्पादेवी गाउँपालिका ओखलढुङ्गा बिलन्दुका दुर्गाधन सुनुवारको शङ्कास्पद मृत्यु भएको छ । उनी र सँगै आएका साथीहरूलाई मापसे गरेको भन्दै भदौ ८ गते राती प्रहरीले लखेटेको थियो ।

२३ वर्षीय सुनुवार सिभिल इन्जिनियर पास गरेर डकुमेन्ट लिन काठमाडौँ आएका थिए । साथीभाइसँग रमाइलो गर्दै राती घर फर्कने क्रममा प्रहरीसँग जम्काभेट हुँदा भागेको र गोकर्णेश्वर प्रहरी चौकीका वरिष्ठ सई आर पी पाण्डेसहितको टोलीले भ्यान र बाइकले घेरा हालेर लखेटेको सिसिटिभी फुटेजमा देखिएको मृतकका दाइ विनोद सुनुवारले जानकारी दिए ।

सो क्रममा दुर्गाधनका एक जना साथी लीला गुरुङ्गलाई प्रहरीले पक्राउ गरी भोलि पल्टै छोडेको थियो तर मृतक सुनुवार प्रहरी हिरासतमा नरहेको जानकारी उनले दिएको दाइ विनोदले बताए ।

सुनुवार हराएको स्थान गोकर्णेश्वर मन्दिर वरपर प्रहरीसहित आफन्तहरूले खोज्दा केही नभेटिएको आफन्तको भनाई छ । तर एक्कासी १२ गते बिहान सोही स्थानमा लाश भेटिनुमा आशंका रहेको परिवारजनले बताए । प्रहरी आफैले फोन गरेर लाश भेटिएको सूचना दिएको उनीहरुको भनाई छ।

मुचुल्का रिपोर्टमा माकलबारी बाग्मती खोलामा भेटिएको लाशको प्रकृति हेर्दा गालामा रगत लत्पतिएको भनिएको छ । ४ दिनसम्म नभेटिएको शव एक्कासी सोही स्थानमा भेटिदा मारेर यहाँ ल्याएर फालेको आशङ्का बढेको विनोदले बताए। घटना शङ्कास्पद भएको भन्दै २ दिन अगाडिसम्म बौद्ध प्रहरी प्रमुख डिएसपी हरिबहादुर बस्नेतले जाहेरी लिन नमानेको उनको भनाइ छ।

यस घटनामा प्रहरीकै भूमिका शङ्कास्पद रहेको आफन्तको आरोपसहित ४ जना प्रहरी र मृतकका ८ जना साथीहरू विरुद्ध किटानी जाहेरी दिएको विनोदले बताए। । सुनुवारको शङ्कास्पद अवस्थामा शव भेटिएको कारण आफन्तले प्रहरी र उनका साथीहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै जाहेरी दिएका हुन् । यसअघि प्रहरीको नाम किटानीसहित जाहेरी आएकाले उजुरी लिन नमानेको बताइएको छ।

परिवारका सदस्यले सुनुवारको हत्या भएको आशङ्का गर्दै बौद्धमा बारम्बार दर्ता गर्न खोजेको किटानी जाहेरी हिजो मात्रै प्रहरीले दर्ता गरेको छ । उनको शव पोस्टमार्टमका लागि शिक्षण हस्पिटल महाराजगन्जमा राखिएको छ ।

टिप्पणीहरू