नेपालले टी–२० सिरिजको अन्तिम तथा फाइनल खेल खेल्दै

नेपालले टी–२० सिरिजको अन्तिम तथा फाइनल खेल खेल्दै

केन्या भ्रमणमा रहेको नेपालको क्रिकेट टोलीले आज टी–२० सिरिजको अन्तिम तथा फाइनल खेल केन्यासँग खेल्दै छ । हिजो भएको चौथो खेलमा नेपाललाई पराजित गर्दै केन्याले सिरिज २–२ को बराबर गरेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल जित निकाल्दै शृङ्खला आफ्नो पक्षमा पार्ने योजनामा छ । खेल दिउँसो पौने ४ बजे नैरोबीको खेल मैदानमा सुरु हुने छ ।

हिजोको चौथो खेलमा नेपाल केन्यासँग सात रनले पराजित हुन पुग्यो । १ सय २ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्रै बनाएको थियो । खराब सुरुवात गरेको नेपालले आठ जना ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् भने रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए ।

पहिलो खेल नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने तेस्रो खेलमा नेपालले केन्यालाई चार विकेटले पराजित गरेको थियो ।

अब नेपालले केन्यासँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ । नेपालले पहिलो खेल भदौ १७, दोस्रो १८ र अन्तिम खेल २० गते खेल्ने तालिका छ ।

टिप्पणीहरू