नेपालले जित्यो टी–२० सिरिज

नेपालले जित्यो टी–२० सिरिज

घरेलु टोली केन्यालाई पराजित गर्दै नेपालले पाँच खेलको टी–२० शृङ्खला तीन-दुईले जितेको छ । आज भएको पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले शृङ्खला हात पारेको हो ।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन जोडेको थियो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेले । उनले ५९ रनको योगदान गर्दा रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए ।

दोस्रो खेलमा १८ र चौथो खेलमा सात रनले पराजित भएको नेपाल पहिलो तेस्रो र अन्तिम खेलमा विजयी भएको हो ।

नेपालको अब केन्यासँग भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

टिप्पणीहरू