यस्तो पनि हुँदैछ भवन निर्माणको मापदण्ड फेरेको शहरी विकास मन्त्रालयमा
ललितपुरको सानेपा हाइटस्थित होटल समिट भत्काएर महँगा सयौं आधुनिक अपार्टमेण्ट बनाउने काममा चौधरी ग्रुपलाई सजिलो पारिदिन राजपत्रमा सूचना निकालेर मापदण्ड नै फेरेको पाइएपछि लहरोले पहरो तान्न लागेको छ । मन्त्री रामकुमारी झाँक्रीले जातेजाते जेठ १६ गते हतार हतार मापदण्ड फेर्नु र माननीय कल्याणी खड्का सभापति रहेको प्रतिनिधिसभाअन्तर्गत विकास समितिले उक्त निर्णयमा कैफियत जनाउँदै छानबिन प्रक्रिया अघि बढाउनुले पनि घटनाको गाम्भीर्यता पुष्टि भएको छ ।
अहिलेका मन्त्री मेटमणि चौधरीले संसदीय समितिको निर्देशनबमोजिम कार्यदल गठन गरेपछि चौधरी समूहले हात हालेको पछिल्लो ‘ड्रिम प्रोजेक्ट’ मा प्रारम्भमै कैफियत फेला परेको र महानगरपालिकाका कर्मचारीलाई घुस खुवाएर गडबडीपूर्ण नक्सा पास गराइएको त्यहीँका कर्मचारीले बताएका छन् । चौधरीको अपार्टमेण्टको नक्सामा एउटा,निर्माण र व्यवहारमा अर्को तरिका अपनाइएसङ्गै उक्त भवन निर्माणको शुरुआती चरणमै गम्भीर विवाद देखिएको हो ।
अहिले सरकारी कार्यदलले काम थालेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव आयुक्त नारायण भण्डारीको संयोजकत्वमा बनाइएको कमिटीको संयोजक भने यसबीच फेरिएका छन् । भवन विभागका डिजी नवराज प्याकुरेल सरुवा भएर प्राधिकरणमा गएपछि उनी संयोजक बनेका हुन् ।
संसदीय समितिको आदेशबमोजिम गठित कार्यदलले महत्वपूर्ण विषयबारे उठेको प्रश्नलाई सम्बोधन गर्ने बताइएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो पटक व्यावसायिक भवनहरुको उचाई बढाउने निर्णय गर्दा संघीय सरकारको प्रावधानसँग मेल नखाएको घरजग्गा व्यवसायीहरुको दाबी छ ।
महानगरले तोकेको भवन निर्माणको मापदण्डसँग मेल खानेगरी संघीय मन्त्रालयले आफ्नो मापदण्ड संशोधन गर्नुपर्ने उनीहरुको माग छ । यसअघिका मेयर विद्यासुन्दर शाक्यको पालामा परिवर्तन गरिएको भवन निर्माणसम्बन्धी मापदण्डविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ जसको अहिलेसम्म किनारा लागेको छैन ।
तर त्यस बेलाको सोही नियमको उपयोग गर्दै बबरमहलको बसेरा होटल,दरबारमार्गको दरबार मल,ठमेलमा अग्लो भवन बनाउने शेष घलेहरु लाभान्वित भएका थिए । कोरोना महामारी र लकडाउनपछि अन्य व्यवसायझैँ घरजग्गा र अपार्टमेन्ट मार्केट पनि घटेको देखिन्छ । त्यतिबेला सीमित तलाको स्वीकृति लिएकाहरु पनि अग्लो भवन बनाउने योजनामा देखिन्छन् ।
मन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यकालको अन्तिममा ‘वस्ती विकास,शहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७८’ मा दोस्रो संशोधन गरेर जेठ १६ देखि अपार्टमेण्ट निर्माणमा नयाँ व्यवस्था लागु गरेकी थिइन् ।
यसबीच शहरी विकास मन्त्रालयका विभिन्न निकायमा पनि हाकिमहरु परिवर्तन गरिएका छन् । शहरी विकास विभागभित्र रामचन्द्र दंगालको ठाउँमा सुरेन्द्रमोहन श्रेष्ठलाई लगिएको छ । सामान्यतयाः सबै ठाउँमा वरिष्ठहरुलाई हटाएर कनिष्ठ राखिएको कर्मचारीहरुको आरोप छ ।
टिप्पणीहरू