व्यापारीका घरमा नेताहरुको जमघट
राजनीतिक दलका नेताहरुको भेटघाट र छलफल व्यापारीको घरमा तारन्तार हुन थालेको छ । पार्टी कार्यालय,नेताको निवास,होटल, नातेदारको अपार्टमेण्टपछि राजनीतिक छलफलको निम्ति उनीहरुले कहिले दुर्गा प्रसाईं “मार्सी”,कहिले शारदा अधिकारी त कहिले अनेक थरी व्यापारी तथा व्यवसायीको निवासलाई रोज्ने गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले हिजो दिउँसो कोटेश्वरस्थित एक व्यवसायीको निवासलाई छलफलस्थल बनाए । व्यवसायी चन्द्रलाल श्रेष्ठको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच झण्डै डेढ घण्टा कुराकानी भएको बताइन्छ ।
भेटघाटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि उपस्थिति रहेको सहभागी एक जना नेताले बताए ।
यसअघि अध्यक्ष प्रचण्ड र नेपालबीच अनेक पटक हात्तीवनस्थित प्रचण्डका भानिज गोकुल भण्डारीको अपार्टमेण्टमा छलफल भएको थियो ।
टिप्पणीहरू