फोटो खिच्दा होश गर नेतागण,फसाइ देलान् !
बेलायतमा सोझा र बृध्दबृध्दा भूतपूर्व गोर्खालाई ठगेर नेपाल छिरेका सूर्य नेम्वाङले मन्त्री र नेताहरुसँग फोटो खिच्दै आफ्नो प्रभाव र पहुँच देखाउन थालेका छन् । कुनै बेला गोर्खा आन्दोलन र नेपाली काँग्रेसको गतिविधिमा सँलग्न सूर्य नेम्वाङ लेखपढ गर्न नजान्ने ज्येष्ठ नागरिकबाट कुस्त बटुलेर नेपाल आएका हुन् ।
नेपालमा समेत नेटवर्क रहेको भनिएका नेम्वाङले पछिल्ला दिनमा गृहमन्त्री बालकृण खाँण,काँग्रेस महामन्त्री गगन थापा,स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतसँग कुम र गाला जोडी फोटो खिच्दै सामाजिक सञ्जाल रंगाउन थालेका छन् । पहिले काँग्रेसी भन्ने गरेका नेम्वाङ अहिले प्रभावशाली नेता जोसँग पनि फोटो खिचाउने अभियानमा देखिन्छन् ।
उनी बेलायत जानुअघि विभिन्न आरोपमा प्रहरी अनुसन्धानमा तानिएको स्रोतको दाबी छ । लण्डनमा नेपाली ठगेर नेपाल आएपछि त्यसबारे सोधखोज गर्ने जो कोहीलाई उनले तर्साउने र धम्काउनेसम्मको कार्य गरेको पीडितहरुले बताएका छन् । कतिपयलाई ‘विचार गर्नु,होश पुर्याउनु’ भन्नेसम्मको चेतावनी दिने गरेको उनीहरुले जानकारी गराए ।

उनको बेलायतको कमाउ धन्दा अब त्यहाँको अदालतसम्म पुग्ने चरणमा रहेको बताइन्छ । आफन्तजनसहित धेरै बृद्धबृद्धा ठगिएको चाल पाएपछि एकजना गोर्खा सन्तान रविन राई अत्याचारविरुद्व र न्यायका निम्ति जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको भन्दै सतहमा आएका छन् ।
नेम्वाङले परिवारका सदस्यलाई आवासीय भीसा मिलाइदिने आश्वासनमा एकजना गोर्खाबाट पाँच हजार पाउण्ड (सात लाख ५० हजार रुपैयाँभन्दा बढी) सम्म लिने गरेको खुलासा भएको छ । उनले ५ वर्षयता झण्डै पाँच सयभन्दा बढी भूतपूर्व गोर्खाहरुसँग पाँच हजार पाउण्डसम्म रकम असुलेको बताइन्छ । उनले यस्तै धन्दाबाट पाँचथरमा लिफ्टसहित पाँच तले घर ठड्याइरहेको चिन्नेहरु बताउँछन् । बूढाबूढीसँग पैसा उठाउन नेम्वाङकी श्रीमती आफैं घर घर पुग्ने गरेको स्रोतको दाबी छ ।
‘यो ठगले युकेमा रहेका मामा माइजूलाई मात्र होइन,नेपालबाट युके भिसा अप्लाइ गर्दा भीसा ग्यारेन्टीसहित आवेदनको फि पनि अत्यधिक असुल गरिरहेको सूचना प्राप्त भएको छ’,रविन राई भन्छन्, ‘त्यसकारण फेरि पनि आम नेपाली दाजुभाइ,दिदी बहिनी र आमा बुबाहरुमा अनुरोध छ कि सूर्य नेम्वाङ कुनै वैधानिक मान्यताप्राप्त वकिल होइनन् । उनले अहिले गरिरहेको काम कानूनतः अवैधानिक छ,अब तपाईंहरु नफस्नुस् ।’

ठगीका समाचार फैलिएपछि एभरेष्ट ल सोलिसिट्स फर्मले उनलाई निश्कासन गरेको छ । सत्याग्रह संयुक्त संघर्ष समितिले पनि अभियानबाट हटाइसकेको छ । कानूनी उपचारको प्रक्रिया चलिरहँदा नेम्वाङले भने पाकिस्तानीको अर्को फर्म बोण्ड आडम्स् सोलिसिटर्स फर्ममा आबध्द भएर धुत्ने काम जारी राखेका हुन् ।
यसरी धेरै नेपालीबाट असुलेर नेपाल फर्केका नेम्वाङले पीडितहरुलाई मनोवैज्ञानिक दबाब दिन नेताहरुसँग सामिप्यता रहेको फोटो प्रदर्शन गरेको सजिलै अनुमान लगाउन सकिन्छ । उनको हर्कतका कारण फोटो खिचाउने नेताहरुसमेत सर्वसाधारणको नजरमा बदनाम भएका छन् । त्यसैले ‘दाजु’ भन्दै फोटो खिच्नेहरुसँग नेताहरुले पनि सावधानी अपनाउनुपर्ने बताइन्छ ।
टिप्पणीहरू