भारत अब कमजोर नरहेको रक्षामन्त्री राजनाथ सिंहको दावी

भारत अब कमजोर नरहेको रक्षामन्त्री राजनाथ सिंहको दावी

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो देश पहिलेको तुलनामा निकै बलियो भएको दावी गरेका छन् । उनले हिजो राजस्थानको उदयपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भारत अब कमजोर नरहेको,सबै प्रकारका खतरा र चुनौतीको सामना गर्न पूर्णरुपमा सुसज्जित रहेको उल्लेख गरेका हुन् ।

रक्षामन्त्रीले २०१६ को सर्जिकल स्ट्राइक र २०१९ को बालाकोट एयर स्ट्राइकवारे उल्लेख गर्दै भने,‘भारतले कहिल्यै र कुनै पनि देशमा आक्रमण गरेको छैन । अरु मुलुकको एक इञ्च भूमि पनि कब्जा गरेको छैन । यदि कसैले राष्ट्रको सार्वभौमसत्ता, एकता र अखण्डतामा खलल पुर्याउने प्रयास गरे त्यसको उचित जवाफ दिइनेछ ।’

भारतको सीमाना जोडिएका सबै जसो छिमेकी मुलुकसँग सीमा विवाद कायम छ ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत बलियो,आत्मविश्वासी र आत्मनिर्भर राष्ट्रमा परिणत भएको दाबी गरेका छन् । ‘पछिल्लो आठ वर्षमा भारत अब कमजोर छैन । हामीले आतंकवादविरुद्ध अडान स्पष्ट गर्यौं । हाम्रा सशस्त्र बलहरूले २०१६ मा सर्जिकल स्ट्राइक र २०१९ मा बालाकोट एयर स्ट्राइक गर्नुले भारतको सैन्य पराक्रम कुनै पनि देशभन्दा कम छैन भन्ने पुष्टि भएको छ,’ सिंहले भने ।

टिप्पणीहरू