भाइ रविका लागि दाइ हरिशरणद्वारा मैदान खाली

भाइ रविका लागि दाइ हरिशरणद्वारा मैदान खाली

टीभी कार्यक्रम प्रस्तोता तथा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका दाजु हरिशरणले आगामी संघ तथा प्रदेशको निर्वाचनमा भाइका लागि आफू निर्वाचन क्षेत्र छोड्न तयार रहेको बताएका छन् ।

राजनीतिमा परिवारवादको विरोध गर्दै आफू नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा ‘इन्ट्री’ नदिएका रविका लागि काठमाडौँ-३ छोड्ने हरिशरणले घोषणा नै गरेका हुन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भाइ रवि र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् ।

यसअघि हरिशरणले आफू स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ-३ बाट चुनाव लड्ने सार्वजनिक गरेका थिए । उनको उम्मेदवारी घोषणाबाट अप्ठेरोमा परेका रविले भने अहिलेसम्म आफू उठ्नेबारे मुख खोलिसकेका छैनन्। तर,आन्तरिक छलफलमा भने दाजुका कारण आफ्नो निर्वाचन क्षेत्र सुरक्षित नभएको गुनासो गर्ने गरेको बताइन्छ ।

कुनै अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउनुस् कुलमान सर,अर्को इतिहास कोरिनेछ ।

काठमाडौँ ३ मै नेकपा माओवादी केन्द्रले नेपाल विध्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उम्मेदवार बनाउने चर्चा पनि छ । हरिशरणले कुलमानका लागि पनि आफू पछि हट्न तयार रहेको बताएका छन् । तर, त्यसका लागि कुलमान स्वतन्त्र उठ्नुपर्ने उनको शर्त छ।

चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउन आग्रह पनि गरे ।

आजै सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन् :

सामाजिक सञ्जालमा आएको समाचार सहि हो र काठमाण्डौ-३ मा कुलमान घिसिङजी माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दावी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ,तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।

कुनै अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउनुस् कुलमान सर,अर्को इतिहास कोरिनेछ । यदि यो समाचार गलत हो भने मान्नुस्,स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।

टिप्पणीहरू