निलम्बित प्रधानन्यायाधीशको बयान हेर्दा हेर्दैमा,भोलि फेरि ११ बजे हाजिर
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि लागेको महाभियोगबारे अध्ययन गर्न गठित सिफारिस समितिको आजको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बयान नसकिएका कारण भोलि पनि बैठक बस्ने गरी स्थगित गरिएको समितिका एक सदस्यले जानकारी दिए । उनका नुसार आज राणाले विभिन्न चार वटा प्रश्नको जवाफ दिएका छन् । बयानका क्रममा उनले आफूमाथि लागेका आरोपको सशक्त बचाउ गरेका थिए ।
राणामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको,खराब आचरण र कार्यक्षमता अभाव रहेको,न्याय सम्पादनमा अवरोध गरेकोलगायतका आरोप छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयको बन्द कोठामा लिइएको बयानका क्रममा राणाले ती आरोपको खण्डन गरेका छन् । आफूले कानुन बाहिर गएर कुनै पनि काम नगरेको दाबी गर्दै उनले महाअभियोग प्रस्तावको प्रक्रिया नै गलत भएको जिकिरसमेत गरे ।
समितिका ज्येष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकमा सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित,शिवमाया तुम्बाहाम्फे,कृष्णभक्त पोखरेल, मिनबहादुर बिक,यशोदा सुवेदी, रेखा शर्मा,कल्याणी खड्का र प्रमोद साहको उपस्थिति रहेको थियो ।
बैठकमा समितिका सदस्यहरु र निलम्बित प्रधानन्यायाधीश राणाबीच सवालजवाफ पनि भएको थियो ।
टिप्पणीहरू