नागरिकता विधेयक विधायन समितिबाट पनि हुबहु पारित

नागरिकता विधेयक विधायन समितिबाट पनि हुबहु पारित

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रस्तुत नागरिकता विधेयकमा कुनै संशोधन नगरी हुबहु पारित गरेको छ । आज बसेको समिति बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।

राष्ट्रिय सभाको बैठकले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको थियो । तर कुनै संशोधन बिना नै उक्त विधेयक समितिबाट पारित भएको छ ।

१५ सदस्यीय समिति बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ । तर, एमालेका तीन जना र स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले फरक मत राख्नुभएको छ ।

उक्त विधेयकलाई सरकारले भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । यसअघि प्रमाणीकरणको निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको उक्त विधेयक फिर्ता भएको थियो । राष्ट्रपतिले पुनः विचार गर्नको निम्ति फिर्ता पठाए पनि प्रतिनिधि सभाको बैठकले हुबहु पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।

टिप्पणीहरू