शीतल निवासमा राष्ट्रपति र माओवादी नेताबीच यस्तो कुराकानी

शीतल निवासमा राष्ट्रपति र माओवादी नेताबीच यस्तो कुराकानी

आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत पाएपछि राजनीतिक दल, नागरिक समाज,विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुलाई निवासमा बोलाएर परामर्श गरिरहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज सत्तारुढ माओवादी केन्द्रका नेतासँग छलफल गर्नुभएको छ।

अपरान्ह ३ बजे शीतल निवास पुगेका माओवादीका शीर्ष पाँच नेतासँग राष्ट्रपतिले झण्डै दुई घण्टा छलफल गर्नुभयो । पुनर्विचारका लागि फिर्ता पठाएको विधेयकबारे चासो राख्दै राष्ट्रपतिले नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयमा आम सहमति जुटाउनुपर्ने आफ्नो धारणा रहेको माओवादी नेताहरुलाई बताउनुभएको थियो । संसदले पास गरेको विधेयक आफूले निकै सोच विचार गरेर फिर्ता पठाएको बताउँदै उहाँले विवेकपूर्ण निर्णय गर्न माओवादी नेतृत्वलाई सुझावसमेत दिनुभयो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । सो क्रममा प्रचण्डले अंगिकृत नागरिकताका विषयमा राष्ट्रपतिसँग आफूहरुको समान धारणा रहेको पनि बताउनुभएको थियो ।

नागरिकता विधेयकमा यसअघि जारी गरिएको अध्यादेशकै व्यवस्था राखिएको भन्दै प्रचण्डले अनावश्यक राजनीतिकरण गर्न नहुनेमा जोड दिनुभएको थियो । संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याउनुपरेको राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको मल्लले बताए ।

टिप्पणीहरू