काठमाडौंलाई राती घुम्न योग्य बनाइने
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालीन सम्पदायात्रा सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ । काठमाडौं, भक्तपुर,ललितपुर र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रीकालीन पदयात्रा शुरु गर्नेबारे मन्त्री श्रेष्ठले सरोकारवालाहरुसँग गर्नुभएको छलफलमा उक्त योजना सार्वजनिक गरिएको हो ।
उक्त योजनाले पर्यटक आगमनमा बृध्दि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने मन्त्रीको दाबी छ । रात्रीकालीन सम्पदायात्राबाट यहाँका कला,संस्कृति र सम्पदालाई वाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।
‘रात्रीकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर,जात्रा पर्व मात्रै होइन बाजागाजा,सांस्कृतिक नाच,झाँकी र भजनले पनि पुनर्जीवन पाउने छन्,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
योजनामा पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीचको सहकार्य, सम्पदा उज्यालो पार्न बत्ती र सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरिने कार्यक्रम राखिएको छ ।
छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी,पर्यटन व्यवसायी,प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
टिप्पणीहरू