कैलालीमा आरजुको उम्मेदवारीविरुद्ध खडा भए क्षितिज
नेपाली काँग्रेस कैलालीको उम्मेदवारी सिफारिसमा नयाँ तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्री पत्नी आरजु देउवाले कैलाली-५ बाट आफ्नो उम्मेदवारी घोषणा गरेलगत्तै कैलालीकै महासमिति सदस्य क्षितिज भण्डारीले पनि उम्मेदवारी सिफारिसको लागि पार्टी कार्यालयमा निवेदन दिएका छन् ।
भण्डारीले आरजुलाई जबरजस्त रूपमा सर्वसम्मत उम्मेदवार बनाउने प्रपञ्च रचिएको र त्यसविरुद्ध पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराइएको बताएका छन् ।
उनले पार्टी कार्यालयमा उम्मेदवारीको लागि निवेदन दिएपछि प्रतिक्रिया दिँदै भने,” आज म आफू जन्मेको स्थान,स्कूल र क्याम्पस पढेको र ३० वर्ष प्रत्यक्ष राजनीति गरेको स्थानीय भएको कारण कैलाली-५ धनगढीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि विधिवत उम्मेदवारी दर्ता गर्दछु ।”
भण्डारीले ०७४ सालको निर्वाचनमा पनि आरजुविरुद्ध प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका थिए। त्यतिबेला आगामी ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिने शर्तमा उनको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । देउवा परिवारले दिएको उक्त वचनसँग विश्वस्त भएका भण्डारी यस पटक पनि उम्मेदवारी नबन्ने सम्भावना रहेको बताइएको छ।
स्रोतका अनुसार काँग्रेसको लोकतान्त्रिक चरित्र र पद्धतिलाई लत्त्याउँदै जिल्ला र क्षेत्रीय समितिले बालुवाटारको चर्को दबाबमा भण्डारीको नाम सिफारिस नगर्ने पक्का छ ।
टिप्पणीहरू